प्रतिभाशाली साहित्यकार पारिजातको पीडा
अनामिका रोक्का
पारिजात नामले चर्चित विष्णुकुमारी वाईबा प्रसिद्ध नेपाली साहित्यकार हुन् । उनी बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी पनि हुन् । मुख्यतः पारिजातका कवितामा विसंतिवादी, अस्तित्ववादी चिन्तन रहेको पाइन्छ । पारिजातको जन्म दार्जिलिङको लिंगीय चिया कमानमा विक्रम सम्वत् १९९४ बैशाखमा भएको हो । उनको पिता के.एन. वाईबा चिकित्सक थिए भने माता अमृत मोक्तान हुन् । उनको न्वारनमा विष्णुकुमारी वाईबा नाम राखियो । तर, लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए । उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो, जुन उनी आफैंले रोजेकी थिइन् । उनका असंख्या कृतिहरुले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन् ।
पारिजातको प्रारम्भिक पढाई दार्जिलिङमा नै भयो । त्यसपछि वि.सं. २०११ सालमा काठमाडौं भित्रिएकी पारिजातले पद्यकन्या विद्याश्रमबाट एस.एल.सी. र पद्यकन्या कलेजबाट बी.ए. सम्मको अध्ययन हासिल गरिन् । अंग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा उनी भर्ना त भईन् तर शारीरिक असक्तता र लेखन कार्यमा बिशेष सक्रिय भएको कारण उनको इच्छा अधुरै रह्यो । दर्शनशाश्त्र र साहित्य बिषयका ग्रन्थहरु खोजी–खोजी पढ्ने उनको बानी थियो । पारिजात एक संघर्षशिल नागरी पनि हुन् । वाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसमेत गर्न पाइनन् । त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोग पीडा पनि खेप्नुपर्यो । पिताको संरक्षण र रेखदेखमा काठमाडौंमा बसि अध्यनमा लाग्दा उनले विभिन्न अभावहरुसँग जुध्नुपर्यो । वि.सं. २०२९ सालमा पिताको देहावसान भएपछि उनी पितृस्नेहबाट पनि बन्चित हुनुपर्यो । वि.सं. २०१३ मा ‘धरती’ पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन् ।
उसो त पारिजात भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै–रूझ्दै घुम्ने, वन, जंगल चहार्ने, जंगली फूलहरू टिप्ने गर्थिन । सा–साना घटनाले पनि गहिरो प्रभाव पर्दथ्यो उनीलाई । त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन् । पारिजातलाई वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष मन मन पर्दथ्यो ।
यस्तैयस्तैमा वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध केही संगितकार, लेखक र कविहरूले आफ्नै प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरे । त्यो समूहको नाम थियो ‘राल्फा’ । यस समूहको केन्द्रविन्दुका रूपमा पारिजात रहिन् । यो समूहले आफ्ना विद्रोहका स्वर देश–वदेशमा जहाँजहाँ उराल्दै हिँड्यो, त्यहाँ–त्यहाँ आफ्नो अशक्त शरीर लिएर पनि गईन् पारिजात । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोसेढुंगा बन्न पुग्यो । जति पछि त्यति नै पारिजातको स्वास्थ्य खराब हुँदै गयो । हाड–जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो उनलाई । यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ मा पटक–पटक भारतमा उपचारार्थ गईन् । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आफ्नो मनलाई सम्हालिन र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिइन । र त वि.सं. २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट सदस्यता लिईन् । उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको पक्षमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला संघको अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भईन् । पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भईन् । वि.सं. २०३६ मा प्रगतिशील लेखक कलाकार संघको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रह्यो ।
हुन पनि गीत–संगीतमा पारिजातको ठूलो लगाव थियो । वेदना साँस्कृतिक समूहसँगै र पछि इसाससँग पटक–पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन् । उनी इन्द्रेणी साँस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष पनि थिइन् । २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी पारिजात सडकमा ओर्लिइन् । विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन् । २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि, कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबैभन्दा अघिल्लो पंक्तिमा बसी कालोपट्टि बाँधेर विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन् ।
पारिजात प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्छ भन्ने माग राखी संघर्षमा आर्लिएको ‘प्राज्ञिक संघर्ष समिति’ को संयोजक भइन् । प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन् । पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थासँग पनि संलग्न भइन् । उनी नेपाल मावनअधिकार संगठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन् । अन्तर्राष्ट्रिय संघ–संस्थाहरू इगत च्ष्नजत क्ष्लतभचलबतष्यलब,ि ँझष्लष्कत ब्ककयअष्बतष्यल, क्यअष्भतथ ायच ध्यmभल न्भयनचबउजभच, ब्mलभकतथ क्ष्लतभचलबतष्यलब िआदिसँग सम्वन्धित थिइन् ।
पारिजातले मदन पुरस्कार, गंकी पुरस्कार र पाण्डुलिपि पुरस्कार पाइन् । उनलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ संघ’द्वारा अभिनन्दित पनि गरियो । पारिजातद्वारा लिखित पुस्तक ‘शिरिषको फूल’को अंग्रजी अनुवादलाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो । उनलाई मनपर्ने रङ्ग हरियो, मनपर्ने ऋतु वर्षा, मनपर्ने फूल गुराँस र मनपर्ने खानाः छोइला, मम, सुख्खा रोटी, काभ्रो, चिण्डो, टमाटर र कोइरालो थिए ।
पारिजातका प्रकाशित कृतिहरूमा आकांक्षा (कविता संग्रह २०१४), शिरीषको फूल (उपन्यास २०२२), महत्ताहीन (उपन्यास२०२५), आदिम देश (कथासंग्रह २०२५), बैँसको मान्छे (उपन्यास २०२९), तोरीबारी, बाटा र सपनाहरू (उपन्यास २०३२), सडक र प्रतिभा (कथासंग्रह २०३२), अन्तर्मुखी (उपन्यास २०३५), उसले रोजेको बाटो (उपन्यास २०३५), पर्खालभित्र र पर्खाबाहिर (उपन्यास २०३२ मा लेखिएको र २०३५मा प्रकाशित), अनिंदो पहाडसँगै (उपन्यास २०३९), साल्गीको बलात्कृत आँसु (कथा संग्रह २०४३), धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण २०४३), पारिजातका कविताहरू (२०४४), एउटा चित्रमय सुरुवात (संस्मरण २०४५), परिभाषित आँखाहरू (उपन्यास २०४६), बोनी (उपन्यास २०४८), आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू २०४८), बधशाला आउँदा जाँदा (कथासंग्रह २०४९), वैशाख वर्तमान (कविता संग्रह २०५०), अध्ययन र संघर्ष (संस्मरण २०५१ मृत्युपश्चात प्रकाशित), सुमित (संस्मरण २०६५ मृत्युपश्चात प्रकाशित) आदि हुन् ।
त्यस्तै पारिजातले दर्जनौ सम्मान र पुरस्कार प्राप्त गरेकी छिन् । जसमा मदन पुरस्कार वि.सं. २०२२, युगज्ञान पुरस्कार वि.सं. २०२७, पाण्डुलिपि पुरस्कार वि.सं. २०४९, गंकी बसुन्धरा पुरस्कार वि.सं. २०४९ लगायत पर्दछन् । उनको निधन लामो समयसम्मको पुरानो व्यथाले २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको विशेष उपचार कक्षमा भयो ।
