बीमा कम्पनीहरूमा करिब २१ अर्बको दाबी, सबैभन्दा धेरै सम्पत्ति र मोटर बीमामा क्षति
काठमाडौं । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको हो।
यसअघि बीमा प्राधिकरणले नै करिब २५ अर्बको बीमा दाबी परेको तथ्यांक सार्वजनिक गरेको थियो अहिले भने कम्पनीहरुमा परेको दाबी तथ्यांकलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले बताइन् ।
बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारीसाधन र जलविद्युत् आयोजनामा क्षति पुगेपछि परेको यस दाबीमध्ये हालसम्म बीमकहरूले अग्रिम (पेश्की) समेत गरी जम्मा ६७ लाख ४८ हजार रुपैयाँ मात्र भुक्तानी गरेका छन्।
बीमालेखको प्रकारअनुसार रकमका आधारमा सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमातर्फ ५१८ वटा दाबीमार्फत ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति दाबी गरिएको छ, जसमा हालसम्म ३८ लाख १४ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।
त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम (सीएआर) बीमातर्फ १६५ वटा दाबीबाट ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ बराबरको क्षति मूल्याङ्कन गरिएको छ।
दाबी संख्याका आधारमा भने मोटर बीमा सबैभन्दा अगाडि देखिएको छ। बाढीले सवारीसाधन बगाएको र क्षति पुर्याएको भन्दै १ हजार ६६ वटा मोटर बीमाको दाबी परेको छ, जसको रकम ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ बराबर छ। मोटर बीमातर्फ २४ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ।
यसबाहेक, परिवहन (ट्रान्जिट) बीमातर्फ १०४ वटा दाबीमार्फत २ अर्ब ४८ करोड ५१ लाख, अन्य विविध बीमातर्फ २९९ दाबीबाट १ अर्ब ३६ करोड ८५ लाख र स्वास्थ्य बीमातर्फ २८ वटा दाबीबाट २२ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी परेको छ।
कम्पनीगत आधारमा हेर्दा सबैभन्दा धेरै आर्थिक दायित्व हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। यस कम्पनीमा १५९ वटा दाबीमार्फत ६ अर्ब २७ करोड ५१ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
सम्बन्धित समाचार
विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...
सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...
काठमाडौंपछि बुटवलमा आयोजना हुँदै ‘पल्सर आरपीएम’, असोज १७ गते रोमाञ्चक अनुभवको तयारी
बुटवल। युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृति लाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ बुटवलमा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ।...




