KTM Post Logo
KTM Post Logo

नक्कली बिरामी र प्राध्यापक देखाएर मेडिकल कलेजको धन्दा चलाएको रहबर अन्सारीको आरोप

📰
KTM Post

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा नक्कली फ्याकल्टी र बिरामी देखाएर चिकित्सा शिक्षा आयोगको निरीक्षणमा व्यापक अनियमितता गरिएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अन्सारीले विगत १० दिनदेखि नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्र्याजुएट (पीजी) विद्यार्थीहरू आन्दोलनरत रहेको जानकारी गराए।

उनका अनुसार १० दिनअघिदेखि पीजी विद्यार्थीहरूलाई होस्टेल खाली गर्न, अस्पतालमा काम गर्न र कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको छ। विद्यार्थीहरूले मेडिकल कलेजको नाममा भइरहेको अनियमितताको पर्दाफास गरेपछि कलेज प्रशासनले उनीहरूमाथि यस्तो विभेदकारी व्यवहार गरेको उनले दाबी गरे।

उनले भने, ‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर—कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पीजी सिट लिइएको छ।’

चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले सुरक्षा गार्डहरूलाई समेत बिरामी बनाएर इमर्जेन्सीमा राख्ने र पानी चढाउन लगाउने गरेको गम्भीर आरोप उनले लगाए।

‘नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाएर बसिरहेका कलेजहरूलाई राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्योलमा पार्न मिल्दैन,’ सांसद अन्सारीले भने।

विगतमा प्रभावशाली राजनीतिक व्यक्तिहरूसँगको पहुँच र सम्बन्धका कारण यस्ता गैरकानुनी गतिविधिमा संलग्न संस्थाहरूमाथि कारबाही हुन नसकेको दाबी उनले गरे। अन्सारीले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनसमेत प्रभावमा परेको आरोप लगाए।

‘आज ती विद्यार्थीहरू काठमाडौँको सडकमा घुमिरहेका छन्, तर कुनै सुनुवाइ भएको छैन,’ उनले संसद्मा दुखेसो पोखे।

उनले शिक्षामन्त्रीलाई पीडित विद्यार्थीहरूको समस्याबारे गम्भीर छानबिन गरी तत्काल उनीहरूको उचित व्यवस्थापन गर्न आग्रह गरे। कलेजमा समस्या र अनियमितता पुष्टि भएमा ती विद्यार्थीहरूलाई अन्य मेडिकल कलेजहरूमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ थियो।

सांसद अन्सारीले कलेजमा एउटा विषय पास गराउन नेपाली विद्यार्थीबाट ३ लाख र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म असुलिने गरेको अर्को गम्भीर आरोपसमेत लगाए।

उनका अनुसार रकम लिएर उत्तरपुस्तिकामै उत्तर लेखिदिएर पास गराउने जस्ता धन्दा भइरहेका छन्। यस्ता गतिविधिले भविष्यमा बिरामीको उपचारमा गम्भीर त्रुटि र जोखिम निम्त्याउन सक्ने भन्दै राज्यले यस विषयलाई तत्काल गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए।

फिल्मको प्रसंग जोड्दै उनले भने, ‘’मुन्ना भाइ’ सिनेमामा हेर्दाखेरि त ३ घण्टा रमाइलो लाग्थ्यो, तर राज्यमा नै खुलेआम ‘मुन्ना भाइ’ चल्दाखेरि यो राज्यका लागि अत्यन्तै गम्भीर विषय हो।’

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने 1

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित 1

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट 1

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं 1

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं

काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...