KTM Post Logo
KTM Post Logo

वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ?

📰
KTM Post

सुशील रेग्मी

नेपाली वाम राजनीतिमा अहिले दुईवटा बहस समानान्तर छन् । एउटा, पुराना पार्टी र नेतृत्वलाई कसरी जोगाउने ? दोस्रो, यही संरचनाले काम नगरेपछि नयाँ राजनीतिक संरचना कसरी बनाउने ? दोस्रो बहसको केन्द्रमा वरिष्ठ वामपन्थी नेता झलनाथ खनाल देखिन थालेका छन् ।

नेकपा एमालेभित्र निर्वाचनपछि सुरु भएको समीक्षा र पुनर्संरचनाको बहसले पार्टीभित्रको नेतृत्व प्रश्नलाई सतहमा ल्याएको छ । पुनर्गठन कार्ययदलमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पाेखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेपछि विवाद झन् स्पष्ट भएको छ । पोखरेलले तयार गरेको प्रतिवेदनमा पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठनका विकल्प अघि सारिएको छ, जसमा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बने ।

अर्कोतर्फ बादलले छुट्टै प्रतिवेदनमार्फत ओली नेतृत्वमाथि उठेको प्रश्नको प्रतिवाद गरेका छन् । उनको प्रतिवेदनमा ओलीलाई नेतृत्वबाट हटाउने प्रयासको विरोध गरिएको विवरण सार्वजनिक भएको छ । कार्यदलको बैठकमा दुवै प्रतिवेदन पेस भएपछि नेतृत्वको प्रश्नलाई लिएर बादल र पोखरेलबीच प्रत्यक्ष मतभेद भएको बताइएको छ ।

यसले एमालेको संकट एउटा नेताको पक्ष र अर्को नेताको विपक्षको विवाद हो कि पार्टीको राजनीतिक दिशा र संगठनात्मक संरचनामै समस्या छ भन्ने प्रश्न खडा गरेको छ । यही ठाउँमा झलनाथ खनालको प्रस्ताव अर्थपूर्ण देखिन्छ ।

खनालले केही साताअघि नै ओली र प्रचण्डकै नेतृत्वमा वाम एकता पुनर्जीवित हुन नसक्ने बताएका थिए । उनको तर्क थियो, पहिले वाम आन्दोलन किन कमजोर भयो भन्ने गम्भीर समीक्षा हुनुपर्छ । त्यसपछि मात्रै नयाँ नेतृत्व र नयाँ राजनीतिक आधारमा एकताको प्रक्रिया अघि बढ्न सक्छ ।

खनालको पछिल्लो अभिव्यक्ति अझ स्पष्ट छ । उनले नेकपालाई पुरानै ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताएका छन् । यसको अर्थ अहिलेको बहस एमाले, नेपाली कम्युनिस्ट पार्टीलाई एउटै नाममा जोड्ने विषय होइन । मुख्य कुरा नयाँ वाम शक्ति कस्तो हुने  भन्ने हो ।

खनालले त्यसको वैचारिक आधारका रूपमा राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता, आर्थिक विकास र नेपाली विशेषतामा आधारित समाजवादलाई अघि सारेका छन् । उनले चीनको विकास अनुभवबाट नेपालले सिक्नुपर्ने तर चिनियाँ मोडलको हुबहु नक्कल गर्न नहुने बताएका छन् । नेपालले आफ्नै इतिहास, संस्कृति र सामाजिक विशेषताअनुसार विकास तथा समाजवादको मोडल निर्माण गर्नुपर्ने उनको धारणा छ । 

यही कारण खनालको बहस पार्टी एकताको सामान्य नाराभन्दा फरक देखिन्छ । उनी वाम आन्दोलनको पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग मात्रै जोडिरहेका छैनन् । नीति, कार्यक्रम, संगठन र विकासको मोडलसमेत पुनर्विचार गर्नुपर्ने उनको धारणा छ । एउटा यहाँ छुटाउनै नहुने महत्त्वपूर्ण विषय भनेकाे भूराजनीतिक । गत वर्षकाे जेनजी आन्दाेलनपछि अमेरिका, चीन र भारतले नेपालकाे राजनीतिमा निकै चासाेका साथ हेरिरहेका छन् । खनाललाई चीनले विश्वास गर्ने नेताकाे रूपमा हेरिन्छ । जसरी केपी ओली, प्रचण्ड र माधव नेपाललाई भारत र अमेरिकाले बढी विश्वास गर्छ ।

खनालको नयाँ राजनीतिक प्रस्तावमा पूर्वमाओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ताको आकर्षण बढेकाे छ । माओवादी आन्दोलनबाट आएका विभिन्न समूह अहिले अलग–अलग राजनीतिक प्रक्रियामा छन् । नेतृत्व, संगठन र राजनीतिक कार्यदिशाबारे उनीहरूभित्र आफ्नै खाले बहस छ । त्यसैले खनालको ‘पुनर्गठन र रूपान्तरण’को प्रस्तावले माओवादी पृष्ठभूमिका ती शक्तिलाई पनि नयाँ राजनीतिक 'प्लेटफर्म'बारे सोच्ने ठाउँ दिन सक्छ । 

नेपालको वाम राजनीतिमा विगतमा पटक–पटक एकता भएका छन् । पार्टीको नाम फेरिएका छन् । नेतृत्व फेरिएको छ । तर संगठन सञ्चालनको शैली, नेतृत्व हस्तान्तरणको संस्कार, आर्थिक नीति र जनतासँगको सम्बन्धमा अपेक्षित परिवर्तन हुन नसकेको आलोचना पनि निरन्तर छ । त्यसैले अहिलेको संकटलाई ‘फुट कि एकता’को प्रश्नमा मात्र हेर्ने हो भने बहस फेरि पुरानै चक्रमा फर्किन सक्छ ।

एमालेको पुनर्संरचना कार्यदलमा देखिएको बादल–पोखरेल विवादले यही चुनौती देखाएको छ । एक पक्ष नेतृत्वको निरन्तरतालाई प्राथमिकता दिइरहेको छ । अर्को पक्ष नेतृत्वसँगै संगठन, नीति र नेतृत्व पुनर्संरचनाको आवश्यकता औंल्याइरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीभित्र पनि नयाँ संरचनालाई कसरी संस्थागत गर्ने, नेतृत्वको पुस्तान्तरण कसरी गर्ने र वाम एकताको राजनीतिक अर्थ के हुने भन्ने प्रश्न बाँकी छन् । यसरी हेर्दा नेपाली वाम राजनीतिमा अहिले ‘शून्य वाम शिल्प’ र ‘शून्य एकता शिल्प’को अवस्थामा देखिएको छ । पुरानो संरचना संकटमा छ । नयाँ संरचनाको खाका स्पष्ट छैन । यही खाली ठाउँमा झलनाथ खनालले अघि सारेको पुनर्गठनको बहसले भने राजनीतिक अर्थ राखेको छ ।

अब निर्णायक प्रश्न एउटै छ, पुराना पार्टीलाई जोडेर फेरि अर्को पुरानै शक्ति बनाउने कि नयाँ विचार,  नयाँ नीति, नयाँ संगठन र नयाँ राजनीतिक कार्यदिशासहित वाम आन्दोलनको नयाँ शिल्प निर्माण गर्ने ?

त्यसको उत्तर आगामी छलफल, संगठनात्मक पहल र राजनीतिक निर्णयहरूले दिनेछन् । अहिले भने वाम राजनीतिमा पुनर्गठनको बहस रोकिएको छैन ।  एमालेभित्रको नेतृत्व विवाद र नेकपाभित्रको संगठनात्मक संक्रमणसँगै त्यो बहस अझ फराकिलो बन्दै गएको छ । याे बहसकाे भरपर्दाे विकल्पकाे नेतामा झलनाथ खनाल देखिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने 1

कांग्रेस महाधिवेशनमा उम्मेदवारहरुले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने

काठमाडौं। यही असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्रचारप्रसारलाई निरुत्साहित गरिएको छ। केन्द्रीय निर्वाचन...

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित 1

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य : १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ। गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो।अधिवेशनको समापन गर्दै सभामुख...

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट 1

प्रधानमन्त्री कार्यालयको प्रगति विवरण: १ अर्ब विपद् कोषबाट निकासा, हेलो सरकारमा १५ हजार बढी गुनासो फर्छ्यौट

काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री...

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं 1

प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं

काठमाडौं। नजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने...