KTM Post Logo
KTM Post Logo

खारेज भइसकेकाे युटीएलको लाइसेन्स फेरि ब्युँताउने खेल

📰
KTM Post

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचनामार्फत युनाइटेड टेलिकम लिमिटेडको अनुमतिपत्र कानूनबमोजिम स्वतः खारेज भएको घोषणा गरिसकेको छ । तर, त्यही कम्पनीसँग बक्यौता, किस्ताबन्दी, भुक्तानी र अनुमतिपत्र नवीकरणको सम्भावनाबारे पत्राचार भइरहेको छ । यस्तो पत्राचार किन र कुन कानूनी आधारमा भयो भन्ने गम्भीर प्रश्न उठेको छ ।

प्राधिकरणले २०८० मंसिर २७ गते प्रकाशित गरेको “इन्टरनेट (इमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना” मा युनाइटेड टेलिकमको इन्टरनेट सेवाको अनुमतिपत्रको अवधि २०८० कात्तिक ५ गते समाप्त भएको स्पष्ट उल्लेख गरेको छ । तोकिएको समयभित्र नवीकरण दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन नदिएकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम अनुमतिपत्र “स्वतः खारेज” भएको प्राधिकरणकै सूचना हो । त्यति मात्र होइन, बाँकी रकम तथा दस्तुर ३० दिनभित्र बुझाउन र नबुझाए प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत सोही सूचनामा दिइएको थियो ।

कुनै अनुमतिपत्र कानूनको प्रत्यक्ष प्रभावबाट स्वतः खारेज भइसकेको हो भने त्यसलाई फेरि सामान्य प्रशासनिक पत्राचारबाट नवीकरण गर्न मिल्छ कि मिल्दैन ? यदि पुनः अनुमति दिन सकिने हो भने त्यसका लागि छुट्टै कानूनी प्रक्रिया के हो ? पुरानो अनुमतिपत्रलाई पुनर्जीवित गर्ने स्पष्ट व्यवस्था कहाँ छ ? र, यदि त्यस्तो व्यवस्था छैन भने किस्ताबन्दीमा रकम तिर्ने वा कुनै निश्चित रकम बुझाएपछि नवीकरणको बाटो खुल्न सक्ने आशयको व्यवहार किन गरियो ? प्राधिकरणले यी प्रश्नको अभिलेखमा आधारित स्पष्ट जवाफ दिनुपर्ने अवस्था बनेको छ ।

अझ रोचक विरोधाभास अर्को सूचनाले देखाउँछ । प्राधिकरणले २०८१ जेठ २५ गते युनाइटेड टेलिकमकै नाममा अर्को अत्यन्त जरुरी सूचना जारी गर्दै आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रसँग सम्बन्धित नवीकरण दस्तुरको किस्ता, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत शीर्षकमा २०८१ जेठ मसान्तसम्म कायम भएको कुल बक्यौता ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार ३३७ रुपैयाँ १२ पैसा १५ दिनभित्र बुझाउन भनेको थियो । समयभित्र रकम नबुझाए दूरसञ्चार ऐनको दफा २८ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने चेतावनी पनि त्यसमा छ ।

२०८० मंसिरको सूचना इन्टरनेट सेवाको अनुमतिपत्रसँग सम्बन्धित छ भने २०८१ जेठको सूचना आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रसँग सम्बन्धित छ । खारेज भइसकेको इन्टरनेट अनुमतिपत्रसँग कि बक्यौता रहेको आधारभूत टेलिफोन अनुमतिपत्रसँग ? यदि पत्राचारमा यो भिन्नता स्पष्ट छैन भने नियामक निर्णयको पारदर्शितामाथि प्रश्न उठ्नु स्वाभाविक छ ।

पछिल्लो समय युनाइटेड टेलिकमबाट ठूलो रकम भुक्तानी गर्ने, विदेशबाट रकम ल्याउने, किस्तामा दायित्व पूरा गर्ने तथा अनुमतिपत्र नवीकरणको सम्भावना खोज्ने विषयमा विभिन्न पत्राचार र प्रस्ताव चर्चामा आएका छन् । उपलब्ध उजुरी तथा सम्बन्धित कागजातमा करिब १३ अर्ब रुपैयाँ वा करिब ९ करोड ५० लाख अमेरिकी डलर बराबर रकम ल्याउने प्रस्ताव र अर्कोतर्फ करिब ३१ अर्ब रुपैयाँसम्मको दायित्वसम्बन्धी पत्राचारको प्रश्न उठाइएको छ । यी रकम र प्रस्तावहरूको अन्तिम कानूनी तथा लेखागत सत्यता सम्बन्धित मूल फाइल र आधिकारिक हिसाबबाटै यकिन हुनुपर्छ । तर, एउटा कुरा स्पष्ट छ, २०८१ जेठमा प्राधिकरण आफैंले ७ अर्ब ४२ करोडभन्दा बढी बक्यौता सार्वजनिक रूपमा मागेको थियो । त्यसपछि रकमको आकार, शीर्षक र नवीकरणसँग जोडिएका शर्तहरू परिवर्तन भएका हुन् भने त्यसको वर्षगत र शीर्षकगत हिसाब सार्वजनिक रूपमा स्पष्ट हुन आवश्यक छ ।

यस प्रकरणमा “पत्र पठाइयो” भन्ने कुरा आफैंमा उपलब्धि होइन । नियामक निकायको काम लगातार पत्र लेखेर समय बिताउनु मात्र होइन । कानुनले तोकेको निर्णय गर्नु, निर्णय कार्यान्वयन गर्नु र सरकारी बक्यौता असुल गर्नु पनि हो । ३० दिनभित्र रकम बुझाउन भनियो भने ३१औं दिनमा के भयो ? १५ दिनको म्याद दिइयो भने १६औं दिनमा कुन प्रक्रिया अघि बढ्यो ? खारेजीको चेतावनी दिइयो भने त्यसको निर्णय कहाँ पुग्यो ? खारेज भइसकेको अनुमतिपत्रका सम्बन्धमा पुनः कुनै सुविधा विचार गरिएको भए त्यसको कानूनी आधार के थियो ? यी प्रश्नहरूको उत्तर फाइलको टिप्पणी, सञ्चालक समितिका निर्णय, कानूनी राय र पत्राचारको क्रमले दिनुपर्छ ।

युनाइटेड टेलिकमले कुनै फ्रिक्वेन्सी वा स्पेक्ट्रम प्रयोग नगरेको कारण शुल्क नतिर्नुपर्ने तर्क गरेमा पनि अर्को प्रश्न उठ्छ । त्यस्तो अधिकार उसले विधिवत् रूपमा कहिले फिर्ता गर्‍यो ? सीमित सार्वजनिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सी आफूसँग कायम राख्ने, विधिवत् समर्पण नगर्ने र पछि फेरि अधिकार कायम वा नवीकरण गर्न खोज्ने अवस्था भए “प्रयोग गरेनौं” भन्ने तर्क मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने कानूनी परीक्षण आवश्यक हुन्छ । शुल्कको वास्तविक दायित्व भने अनुमतिपत्रका शर्त, फ्रिक्वेन्सी निर्धारण, लागू कानून र सम्बन्धित निर्णयबाट यकिन हुनुपर्छ ।

यसैगरी विदेशबाट रकम ल्याउने प्रस्तावलाई पनि एउटा पत्रका आधारमा वास्तविक भुक्तानी क्षमताको प्रमाण मान्न सकिँदैन । विदेशी लगानी ल्याउन आवश्यक स्वीकृति, पूँजी संरचना, रकमको स्रोत, सम्बन्धित सरकारी निकायको अनुमति र नेपाल राष्ट्र बैंकसम्बन्धी प्रक्रिया पूरा भएको छ कि छैन भन्ने अभिलेखले देखाउनुपर्छ । भविष्यमा पैसा ल्याउँछु भन्ने प्रस्ताव र राज्यलाई आज तिर्नुपर्ने वैधानिक बक्यौता एउटै कुरा होइनन् ।

अब यो प्रकरणको सबैभन्दा ठूलो आवश्यकता एउटै छ, सम्पूर्ण निर्णय शृङ्खला सार्वजनिक परीक्षणमा आउनुपर्छ । कुन मितिमा कुन अनुमतिपत्रको अवस्था के थियो ? कति रकम कुन शीर्षकमा देय थियो ? कुन अधिकारीले के निर्णय गर्नुपर्ने थियो ? निर्णय भयो कि भएन ? भएन भने किन भएन ? खारेजीको सूचना कार्यान्वयन भयो कि भएन ? पछिल्लो किस्ताबन्दी वा नवीकरणसम्बन्धी पत्र कुन कानूनअन्तर्गत लेखियो ? र, त्यसबाट राज्यलाई लाभ भयो कि बक्यौता असुली झन् लम्बियो ?

युनाइटेड टेलिकम प्रकरण अब एउटा दूरसञ्चार कम्पनी मात्रै होइन । यो नियामक निकायले आफ्नै निर्णयलाई कति गम्भीरतापूर्वक लिन्छ भन्ने परीक्षण पनि हो । प्राधिकरणले एक दिन `कानुनबमोजिम स्वतः खारेज´ भनेर सार्वजनिक घोषणा गर्ने र त्यसपछि कानूनी स्थिति स्पष्ट नगरी पुनः नवीकरण, किस्ताबन्दी वा पुनर्जीवनको सम्भावना देखाउने हो भने सर्वसाधारणले सोध्ने प्रश्न स्वाभाविक छ, कानुन अन्तिम हो कि पत्राचार ?

यदि पछिल्ला पत्रहरू अलग आधारभूत टेलिफोन अनुमतिपत्रसँग मात्र सम्बन्धित हुन् भने प्राधिकरणले त्यो कुरा स्पष्ट गर्नुपर्छ । यदि खारेज भइसकेको अनुमतिपत्रलाई नै कुनै रूपमा पुनर्जीवित गर्ने प्रयास भएको हो भने त्यसको स्पष्ट वैधानिक आधार देखाउनुपर्छ । र, यदि कुनै स्पष्ट कानुनी आधारबिना सार्वजनिक राजस्व असुली लम्ब्याउँदै विशेष सुविधा दिने प्रयास भएको प्रमाणित हुन्छ भने जिम्मेवार पदाधिकारीको भूमिका स्वतन्त्र अनुसन्धानको विषय बन्नुपर्छ ।

राज्यको अर्बौं रुपैयाँ, सार्वजनिक फ्रिक्वेन्सी, अनुमतिपत्र र नियामक विश्वसनीयता जोडिएको विषयमा अब थप अस्पष्ट पत्राचार होइन, स्पष्ट हिसाब, स्पष्ट कानुन, स्पष्ट निर्णय र स्पष्ट उत्तरदायित्व चाहिन्छ ।

याे पनि पढाैं, यूटीएल प्रकरणमा ‘एफडीआई रोकियो’ भन्दै सरकारमाथि प्रश्न उठाउनु अघि तथ्य हेरौँ

सम्बन्धित समाचार

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो 1

विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित 1

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

काठमाडौं, असोज १६ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न...

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी 1

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकमा एलपीजी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री वितरणको अनुमति दिने तयारी...

चर्चा र विवादकै पर्याय बन्यो चितवनका सिडिओ गणेश अर्यालको नाम ! 1

चर्चा र विवादकै पर्याय बन्यो चितवनका सिडिओ गणेश अर्यालको नाम !

काठमाडौं । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका दुइटा भिडियो सामाजिक संजालमा भाइरल भएसंगै विवादित पनि बनेको छ । यसको पछिल्लो कारण हो...