चर्चा र विवादकै पर्याय बन्यो चितवनका सिडिओ गणेश अर्यालको नाम !
काठमाडौं । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्यालका दुइटा भिडियो सामाजिक संजालमा भाइरल भएसंगै विवादित पनि बनेको छ । यसको पछिल्लो कारण हो नारायणी नदिको पुलमा राइनो क्रुज बगाएर अड्केपछि फोनमा देखिएको उनको अस्वभाविक शारिरिक हाऊभाऊमा भाइरल भएको भिडियो । उनी नारायणी नदिको पुलमा राइनो क्रुज बगाएर अड्केको ठाउँमा पुग्छन् र उनलाई एक फोन आउँछ । उनले पत्रकार महासंघ अध्यक्षको फोन भन्दै उठाउँछन । घटना बारे जानकारी दिने क्रममा हाँस्दै निकै हलुका शैलिमा प्रस्तुत हुन्छन । अझ उनको मुख आँखा शारीरिक हाउभाउ देख्दा मजाक गरेको जस्तो देखिन्छन । आँखा झिम्काउनेदेखि मुख बिगारेर गिज्याए जस्तो गर्छन । ८० टनको क्रेन आयो अब हुरुरुरु तान्छ एंगल मिलाउँदैछ भन्दै निकै ठट्यौली शैलीमा कुरा गरेको भिडियोमा प्रष्ट देखिन्छ । त्यस्तै क्रुज संचालकसँग आक्रोशित हुँदै किन शुरक्षित ठाउँमा नराखेको भनेको भिडियो पनि भाइरल भैरहेको छ ।
जिल्लाको सुरक्षाको जिम्मा लिएको प्रमुख जिल्ला अधिकारीको यो स्तरको शैली र शारिरिक हाऊभाऊ सामान्य मान्न सकिन्न ।
यद्यपि अर्यालको अरु कामहरुको भने निकै प्रसंशा नै हुने गरेको छ । कतिपयले त यस्तो सिडियो सबै जिल्लामा चाहिने तर्क पनि गरेका छन । फिल्डमै पुग्ने घटना बारे जानकारी लिने आवश्यक समन्वय गर्ने अर्यालको बिशेषता हो । हालै मात्रै रसुवा बाढीमा बगेर आएको ग्यास सिलिन्डर फिर्ता गर्न निर्देशन दिनेदेखि, शव ब्यबस्थापनका साथै लासलाई तानेर सुन चोर्ने व्यक्तिको पक्राउ गरेर कारवाही गर्नुमा उनै सिडिओको चर्चा भएको थियो ।
हुन त अर्यालको व्यक्तिगत पृष्ठभूमि नै निकै विवादित रहेको छ । अर्याल २०५९ सालमा श्रम तथा रोजगार प्रर्वद्धन विभागका शाखा अधिकृत -अनुसन्धान अधिकृत) हुँदा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा -अकृत सम्पत्ति) आर्जनमा भ्रष्टाचार मुद्दामा परेका थिए । त्यसपछि ४ वर्ष भन्दा बढी निलम्बनमा परेर उनले सफाई पाए । उक्त मुद्दा सर्वोच्चमा पुगेर किनारा लाग्न १० वर्ष लाग्यो । त्यो बेला उक्त कार्यालय निकै आकर्षक मानिन्थ्यो । विभिन्न उजुरी परेपछि अर्यालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९ सालमै अर्यालविरुद्ध ८२ लाख ४० हजार ७ सय २ रुपैयाँ ५६ पैसा बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । काठमाडौंको बालाजुमा १५ आना र त्यसमा निर्मित घर तथा उक्त ठाउँमा रहेको अर्को ६ आनामा जग्गा, विभिन्न बैंकमा मौज्दात रहेको रकमसहित खुलाएर उक्त विगो कायम गरिएको अख्तियारको अभियोगमा उल्लेख छ । २४/२५ वर्ष अगाडि त्यति बिगो निकै ठूलो हो ।
२०५१ सालदेखि नै राजस्वको नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका अर्याल राजीनामा दिएर उपदान लिँदै प्रशासन सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिव बन्न सफल भएका थिए ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि अर्याल जागिर माया मारेर वैदेशिक रोजगारीमा गए ।
विशेष अदालतबाट सफाइ पाएपछि जागिरमा फर्किएका अर्याल स्थानीय विकास अधिकारी, श्रम, यातायात, सहकारी जस्ता आकर्षक कार्यालयमा बसेर काम गरे । सहसचिव भएपछि अर्याल रूपन्देही, पर्सा र चितवनको सिडिओ बने ।
गत साल भाद्र २३ र २४ को `जेन–जी´ आन्दोलन हुनभन्दा ३ दिन अघि मात्र गणेश अर्याल चितवनको प्रमुख जिल्ला अधिकारी -सिडिओ) मा नियुक्त भएका थिए ।
जेनजी आन्दोलनले सत्तापलट ग¥यो । उनी चितवनको सिडियो भएपछि रमेश लेखक, ओमप्रकाश अर्याल हुँदै सुदन गुरूङसम्म आइपुग्दा ३ जना गृहमन्त्री र गोकर्णमणि दुवाडी, रामेश्वर दंगाल, राजकुमार श्रेष्ठ हुँदै केदारनाथ शर्मा गरी ४ जना गृहसचिव परिवर्तन भइसके । तर अर्याल चितवनको सिडिओमा हालसम्म कायम छन् । काठमाडौंको सिडिओ ईश्वरराज पौडेलभन्दा अगाडि गणेश चितवनको सिडिओ बनेका हुन् ।
राजनीतिक र शान्ति–सुरक्षाका हिसाबले चितवन जिल्ला संवेदनशील मानिन्छ ।
उनी चितवनको प्रजिअ नियुक्त हुन भन्दा पहिला पर्साका सिडिओ थिए । पर्साबाट उनको सरुवा गृह मन्त्रालयमा भएको थियो । पर्साबाट मन्त्रालयमा सरुवा भएका सहसचिव अर्याललाई चितवनमा पठाइएको थियो ।
प्रजिअ नियुक्तिमा रस्साकस्सीको बीचमा गृह मन्त्रालयले आधा दर्जनभन्दा बढी सहसचिवहरूमध्ये कार्यसम्पादनका आधारमा अर्याललाई जिम्मेवारी दिएको थियो ।
अर्याल रुपन्देहीका सिडिओ हुँदा साउदी अरेबियामा मृत्युदण्ड पाएका नेपालीलाई ४७ लाख ब्लडमनी संकलन गरेर मृत्युदण्ड कार्यान्वयन हुनु ६ दिनअघि नेपाल फर्काएका थिए भने भैरहवा एयरपोर्टको सार्वजनिक जग्गा दर्ता प्रकरणमा संलग्न तत्कालीन मालपोत अधिकृतविरुद्ध कारबाही अघि बढाएका थिए । संविधानसभा सदस्यले चर्चेको सरकारी जग्गा फिर्ता ल्याउन आक्रामक प्रयासले स्थानीयस्तरमा वाहवाही कमाएका थिए ।
अर्यालले भारत–नेपाल सीमामा एकीकृत चेकजाँच प्रणाली लागू गरे । पर्सामा सिडिओ हुँदा शीतलहर पीडित ४८ सय घरपरिवारलाई एकद्वार प्रणालीमार्फत सहयोग पु¥याएर सरकारको तत्काल अनुभूति दिने खालका काम गरेको, पर्साको ठाकुरराम क्याम्पसमा १८ वर्षपछि स्ववियु निर्वाचन सम्पन्न गर्नेलगायतका काम गरेको भन्दै उनको प्रशंसा गरिन्छ ।
पछिल्लो भाइरल भिडियोले अहिले मार्केटमा अर्याललाई `सेलीब्रेटी´ सिडिओको नामले पुकारिन थालिएको छ । उनलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिने विशेष अदालतका न्यायाधीशमध्ये एक चोलेन्द्र शम्शेर हुन् । संयोग नै भनौं अर्यालसँगै जबरा पनि अहिले निकै चर्चामा छन् ।
गुल्मी अर्जेका अर्याल पछिल्लो समय भरतपुर महानगरपालिकाको भावी मेयरको उम्मेदवार बन्ने चर्चा समेत चल्न थालेको छ ।
सम्बन्धित समाचार
के नेपाली न्यायपालिका असफलताको मोडमा पुगेको हो ?
काठमाडौं । नेपालमा न्यायपालिका केवल अदालत, इजलास र फैसला गर्ने संस्था होइन। यो संविधानको अन्तिम संरक्षक, नागरिक स्वतन्त्रताको पहरेदार र राज्यका अन्य...
सावधान, खर्दारी अड्डामा रित्तिँदैछ मानव पुँजी !
डिल्लीराज भट्टराईविशेषगरी जेन्जी मुभमेन्टपछि गठन भएको दुई तिहाइ सन्निकट सरकारको दृष्टिमा खर्दारी अड्डा अर्थात् विगतका मालपोत र नापी एवं हालका भूमि...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे सुरक्षा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो र परिवारको सुरक्षामा चुनौती बढेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीसँग थप सुरक्षा...
दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...




