आयुर्वेद तथा वैकल्पिक चिकित्सामा डरलाग्दो अनलाइन मार्केटिङ
डिल्लीराम भट्टराई
अहिले बजारमा वैकल्पिक चिकित्साका क्षेत्रमा डरलाग्दो अनलाइन मार्केटिङ देखिन थालेको छ । अनलाइन मार्केटिङ गर्दै हरि बोहरा भन्छन्, “सबैको जय होस् । म हरि बोहरा । जसको हड्डी खिइएको छ, नशा च्यापिएको छ, उकालो ओरालो गर्न गाह्रो भएको छ, जिन्दगीको अन्तिम चरणमा पुग्दा शरीरमा के के हुन्छ, शरीर झमझम गर्छ भने अब आत्तिनु पर्दैन, हामीले दिएको जडिबुटी औषधि खाने र लगाउने गर्नुहोस् । तपाईंको समस्याको समाधान सयमा सय हुनेछ ।“
बोहराले आफ्नो नामसहित उक्त सन्देशमा प्रत्यक्ष सम्पर्कका लागि मोबाइल नम्बर समेत छोडेका छन् । ललितपुरमा रहेको लञ्जेभिटी हेल्थ होमका कृष्ण श्रेष्ठ पनि बोहराकै शैलीमा विरामीलाई अनलाइनमा देखाएर आफ्नो संस्थाको विज्ञापन गरिरहेका हुन्छन् । पेप्सीकोला अस्थायी बसाेबास गर्दै आएकी इन्द्रकुमारी गुरुङले विसं. २०७९ सालमा आफूलाई क्यान्सर भएको र अहिले २०८३ साल असारसम्म आइपुग्दा असाध्यै राम्रो भएको बताएकी छन् । श्रेष्ठ डाक्टर हुन कि होइनन्, विरामीको भनाइ यसरी सामाजिक सञ्जालमा राखेर निको भए नभएको भन्ने अधिकार उनीमाथि छ कि छैन, त्यो सम्बन्धित निकायले भन्ला वा गर्ला । बोहरा र श्रेष्ठपछि आफूलाई डाक्टर आशिषकुमार झा बताउने अर्का व्यक्ति पनि बडो तामझामले तितेपाती मसाज तेलको विषयमा वकालत गर्छन् । झाले हड्डी खिइएको, नशा च्यापिएको, बाथ युरिक एसिडमा तितेपाती मालिस तेलले राम्रो काम गरेको दाबी गर्छन् । झाले पनि विरामीको `रिफरेन्स’ देखाएर राम्रैसँग अनलाइन मार्केटिङ गर्दै आएको प्रष्ट हुन्छ । अनलाइनमा आइरहने अर्को विज्ञापन झमझम मालिस तेलेको हो । प्रस्तोताले बडो मौलिक भाषामा यस तेलको विज्ञापन गरेको पाइन्छ । यसमा नेपाली आयुर्वेदिक जडिवुटीबाट बनेको नशा च्यापिएको, हड्डी खिइएको, शरीर पोल्ने, दुख्ने समस्यामा पनि यो रामवाण हुन्छ भनेर सन्देश प्रबाह गर्न खोजिएको छ ।
पाइल्स मुक्ति तेल चूर्ण भनेर अर्को त्यस्तै हावादारी विज्ञापन अनलाइन मार्केटिङमार्फत् सुन्न र देख्न पाइन्छ । विज्ञापनदाताहरुले यसमा पनि आफ्नो प्रोडक्टसहित मोबाइल नम्बर दिएर उपभोक्ताको ध्यान आकर्षित गर्ने गरेका छन् । मिडियामा आफूलाई अब्बल ठान्ने जीवराम भण्डारी, प्रमोदा न्यौपाने, राजेन्द्र बानियाँ र अरुहरुले पनि यस्ता अनलाइनमा आफ्नो अडियो भिडियोसहित बेस्कन फुनी फुलाउँदै विज्ञापन गरेको पाइन्छ । यस्ता कयौँ अनलाइन मार्केटिङका प्रमाणसहित आयुर्वेद चिकित्सा परिषद् नेपालका निमित्त रजिष्ट्रार दिपक भण्डारीसँग बैधानिकता र विश्वसनीयताका बारेमा जिज्ञासा राख्दा उनले भने, “खै सर, हामीले त डाक्टरहरुले अनलाइन मार्केटिङ गरे भने खबरदारी गर्ने हो, तर अरु प्रोडक्ट र तिनका सञ्चालकका बारेमा सोधीखोजी गर्ने नियामक निकाय भनेको औषधि व्यवस्था विभाग (डिडिए) हो ।

उनै भण्डारीले आफ्नो भनाइलाई बलियो बनाउन र अनलाइन मार्केटिङमा सहभागी आयुर्वेद चिकित्सकको ठेगान लगाउन परिषदमा पदाधिकारीको खाँचो भएको बताए । उता डिडिएको पनि हालत उस्तै छ । यस्ता भ्रामक अनलाइन मार्केटिङका बारेमा डिडिएका कर्मचारीहरु राम्रो ज्ञान राख्दछन् । तर जति देखायो तिनलाई बाँदरलाई लिस्नो’जस्तो हुन्छ । यताबाट यस्ता अनलाइन मार्केटिङ के हुन् भनेर जिज्ञासा राख्दा उनीहरु तथ्य संकलन गरेर राख्छन् र पछि आफैँ गएर डिल’ गर्छन् भन्ने पनि सुनिन्छ । उतिबेला कक्षा १० को महेन्द्रमालामा प्रकाशित हुने `महादेवले पनि हार्नु परेछ’ शीर्षक कथाको जस्तो अवस्था छ अहिले आयुर्वेद तथा वैकल्पिक चिकित्साको अभ्यास र त्यसमा सहभागी नियामक निकायहरुको व्यहोरा । फेरि यस विधामा सजिलो पनि के छ भने सबै जान्ने सुन्ने र आफूलाई पितापुर्खाको पालादेखि अभ्यास गर्दै आएको बताउँछन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नरदेवी आयुर्वेद चिकित्सालय, डिडिए, स्वास्थ्य मन्त्रालय छनलाई त चन्द्रमाजस्तै देखिने अवस्थामा छन्, तर तिनको पारा रातमा बिस्कुन सुकाएजस्तो छ । उही ओसिने र घुनपुत्लो लाग्ने बाहेक तीबाट अरु केही हुँदैन । अनलाइन मार्केटिङका विषयमा नेपाल आयुर्वेद औषधि व्यवसायी संघका महासचिव लेखनाथ भुसालको भनाई यस्तो छ, उनी भन्छन्, “यस विषयमा हामीले नियामक निकायसँग धेरै करायौँ, उनीहरु गर्छौँ भन्छन्, गर्दैनन् ।´´
संघकै अध्यक्ष रामचन्द्र बुढाथोकीले त सार्वजनिक कार्यक्रममा नै उत्पादक संघ, विभाग र डिडिएका प्रतिनिधि भएकै ठाउँमा सम्बन्धित निकायलाई अनुसन्धान र नियमनमा स्पष्ट भूमिका खेल्न सुझाइसकेका छन् । नेपाल आयुर्वेद औषधि उत्पादक संघका पदाधिकारी पनि कराउनलाई कराउँछन् तर उनीहरु पनि `रातभरि करायो दक्षिणा हरायो’ भन्ने लयमा पुगिसकेका छन् । एकपटक निवर्तमान अध्यक्ष सुमनप्रसाद पाण्डेयले अनौपचारिक कुराकानीका क्रममा भनेका पनि थिए, “अनलाइन मार्केटिङले हाम्रो बजार आधा ध्वस्त पारिसक्यो भनेर हामी कराउँछौँ, चिच्याउँछौँ तर सम्बन्धित निकाय कानमा तेल हालेर बसिरहेको हुन्छ, सुन्दैन ।“
आयुर्वेद तथा वैकल्पिक चिकित्सामै किन यस्तो जात्रा हुन्छ भन्ने विषयमा आयुर्वेदका वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट डाक्टर बुद्धिप्रसाद पौडेल भन्छन्, “लोभीपापी बढे हजुर । कसैलाई आयुर्वेदको उन्नयन मतलवै छैन । सबै गोजी भर्न चाहान्छन् । साँच्चिकै एकजनाले कडाइ गर्ने हो भने पनि सुधार हुन्छ । तर उत्पादक, व्यवसायीदेखि स्वयं चिकित्सकको स्वभावले यो क्षेत्र तहसनहस हुने भो ।“
एकपटक आयुर्वेद क्याम्पस कीर्तिपुरका सहप्राध्यापक डा. शिवमंगल प्रसादले भनेको भनाई पनि यसमा सान्दर्भिक हुन जान्छ । सहप्राध्यापक डा. शिवमंगल प्रसाद भन्दै थिए, “आयुर्वेद बिगारकै आयुर्वेदकाले हो, अरुले होइन । हामी पद र लोलुपताका पछाडि कुदेर यस्तो भएको हो । एक पटक मनलाई ठेगान लगाएर हेरौँ त हामीले आफ्नो विधामा कति काम गर्यौँ ?“
सहप्राध्यापक डा. शिवमंगल प्रसादले भनेको कुरा अहिले पुष्टि पनि भएको छ । कोही आयुर्वेद चिकित्सा परिषद नेपालमा अकुपञ्चरका डाक्टर घुसाउन खोज्छन् त कोही त्यसको विरोध गरिरहेका छन् । आफूले रजिष्ट्रारको नाम भर्न नपाएकोमा कोही कसैलाई रोइलो भएको छ । निमित्तै भएर डा. श्यामबाबु यादवले विभागको झण्डै दुई वर्षे महानिर्देशक पद पड्काए । दशौँ वर्षदेखि यस विधामा तीनजना सहसचिव छन्, तीबाहेक अरु न आउन चाहान्छन् न अरुलाई माथि पठाउन पहलकदमी लिन्छन् । यो आखिर किन यस्तो हुन्छ, काम गर्नेलाई दिएर नगर्नेले साथसहयोग गरे त आयुर्वेद बनिहाल्छ नि ! यो परम्परा विगतदेखिकै हो । डिडिएको उद्योग शाखामा पनि अहिलेसम्म आयुर्वेदकै डाक्टर नियुक्ति हुने गरेका छन् । राम्रोलाई छान्ने र नराम्रोलाई कारबाही गरी आयुर्वेदबाटै बाहिर पठाउने नियत यदि तिनीहरुको भएको भए पनि आयुर्वेद क्षेत्रमा कार्यरत उद्योगहरु बच्न सक्थे । केही न कामको जिएमपी (कुशल औषधि निर्माण संहिता) झुण्ड्याइदिएर तिनै उद्योग शाखाकाले आयुर्वेदका उद्योगी र व्यवसायीलाई पेलिरहेका छन् । विगतमा आयुर्वेद तथा वैकल्पिक चिकित्सका केही डाक्टरहरु आफ्नो बढुवा गराउन र पद प्राप्त गर्न निकै तामझामसँग दौडधूपमा लागे । अहिले पनि पैसा र खान पाउने ठाउँमा तिनै लामबद्ध हुन्छन् । कोही यो क्षेत्रको सुधारमा लाग्दैनन् । नेपाल आयुर्वेद चिकित्सक संघ (अडान) नामको अर्को त्यस्तो संस्था छ जो आफ्नो कुनै पनि कार्यक्रम आफैँ गर्न सक्दैन, उसलाई सामान्य कार्यक्रम सञ्चालन गर्न पनि उद्योगी र व्यवसायीको साथसहयोग चाहिन्छ । आखिर यिनलाई चाहिने पैसा नै हो, जसले पैसा दिन्छ त्यो बाच्छ, अरु मर्छन् भन्ने सामान्यीकरणको सिद्धान्तमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा बाँचिरहेको छ भन्दा फरक नपर्ला । `कुरा गर्यो कुरैको दुख’ भनेजस्तो अवस्था भएर पनि अहिले यस क्षेत्रमा अनलाईन मार्केटिङको बितण्डा मच्चिएको हो भन्दा फरक नपर्ला । आफ्नालाई पराया सम्झेर पैसाको पछि कुद्दा आखिर हुने यस्तै हो । सबैलाई चेतना भया ।
सम्बन्धित समाचार
खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म...
बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको...
गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम
चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै...
६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ
सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न,...




