खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ। विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो।
जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ सैँजुका अनुसार यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोग खोज्ने र समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्द्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गर्ने छ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ। कार्यक्रम मङ्गलबारदेखि महानगरपालिकाभित्र सञ्चालित खोप प्रदायक संस्थाका खोपकर्तालाई सहभागी गराएर कार्यक्रम सुरु गरिएको छ। नियमित खोप सेवाको पहुँच बढाउँदै खोपबाट छुटेका तथा पूर्ण खोप नपाएका बालबालिकाको पहिचान गर्ने सेवा सुनिश्चित गर्ने कार्यशालाको उद्देश्य हो। कार्यशालाबाट स्वास्थ्य संस्थाबाट प्रदान गरिने खोपसम्बन्धी तथ्याङ्क, खोप कभरेज, ड्रपआउट, खोप खेर जाने दर सेवा पहुँचको अवस्थालाई विश्लेषण गरी वडादेखि महानगरस्तरीय योजना तयार पारिनेछ।
आव २०८२-८३ को खोप तथ्याङ्कअनुसार महानगरपालिकामा अधिकांश खोपको कभरेज लक्षित जनसङ्ख्याको तुलनामा १०० प्रतिशतभन्दा माथि देखिएको छ। स्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रविना कर्माचार्यका अनुसार महानगरपालिकामा बिसिजीको कभरेज ३१८.९६ प्रतिशत, डिपिटी–हेपबी–हिब पहिलो मात्रा १३२.७५ प्रतिशत र तेस्रो मात्रा १३३.०२ प्रतिशत देखिएको छ। पोलियो पहिलो मात्रा १३३.०२ प्रतिशत, पिसिभी पहिलो मात्रा १३२.८८ प्रतिशत, एमआर पहिलो मात्रा ११४.२७ प्रतिशत एमआर दोस्रो मात्रा ११०.९४ प्रतिशत छ। यही तथ्याङ्कमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको अनुपात ७२.०८ प्रतिशत मात्र देखिएको छ। यसले लक्षित जनसंख्या निर्धारण, सेवाको उपयोग, अभिलेख तथा रिपोर्टिङ र वास्तविक रूपमा पूर्ण खोप पाएका बालबालिकाको अवस्थालाई थप सुक्ष्म रुपले विश्लेषण गर्नुपर्ने देखाएको छ।
कार्यक्रमको विश्लेषणमा कभरेजसँगै ड्रपआउट, खोप नपाएका बालबालिकाको सङ्ख्या, खोप खेर जाने दर, पहुँच र उपयोगलाई प्रमुख सूचकका रूपमा लिनुपर्ने स्रोत व्यक्ति सैँजुले बताइन्। कार्यक्रमले कुन बालबालिका छुटे, किन छुटे, कुन क्षेत्रमा पहुँच कमजोर छ पहिलो मात्रा लिएपछि किन पछिल्ला मात्रा लिन आएनन् तथ्यमा आधारित उत्तर खोज्नुपर्नेमा जोड रहने छ।
सम्बन्धित समाचार
बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको...
गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम
चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै...
६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ
सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न,...
सुविधा कटौतीपछि कर्णालीमा चिकित्सक आन्दोलित
सुर्खेत । कर्णाली सरकारले चिकित्सकका लागि प्रदान गर्दै आएको प्रोत्साहन भत्ता कटौती गरेको छ । यस आर्थिक वर्षबाट छात्रवृत्ति करारका चिकित्सकलाई कर्णाली...




