आयुर्वेदको नाममा अनलाइन बजारको धन्दा, नयाँ नेतृत्वले लगाउला लगाम ?
लामो समय पदाधिकारीविहीन रहेको आयुर्वेद चिकित्सा परिषद् नेपालमा डा. सिद्धार्थ ठाकुर अध्यक्ष र डा. हरिशरण अर्याल रजिष्ट्रारमा नियुक्त भएका छन् । डा. ठाकुर सरकारी आयुर्वेद चिकित्सक र डा. अर्याल निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै पदाधिकारी बनेका हुन् ।
समस्याको चाङबीच नयाँ नेतृत्व आएकाले अब परिषद्ले कस्तो काम गर्छ भन्ने चासो बढेको छ । लामो समय सरकारी संयन्त्रमा रहेर काम गरेका ठाकुर र निजी क्षेत्रमा आयुर्वेद अस्पताल सञ्चालन गरिरहेका अर्यालका लागि यो अवसरसँगै चुनौती पनि हो ।
विशेषगरी सामाजिक सञ्जालमा फैलिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी भ्रामक र अतिरञ्जित प्रचारलाई नियमन गर्नु नयाँ नेतृत्वको प्रमुख चुनौती बन्ने देखिन्छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा रोगको ‘सफल उपचार’, ‘पुरानोभन्दा पुरानो रोग निको हुने’, ‘एकै दिनमा सुधार हुने’ लगायतका दाबी गर्दै उपचार तथा औषधिको प्रचार भइरहेको पाइन्छ ।
काउन्सिलमा अन्य सदस्यहरुको नियुक्ति हुन बाँकी छ । यसबीच अध्यक्ष ठाकुरले परिषद्का पूर्व अध्यक्ष तथा रजिष्ट्रार, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक, सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक, आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक, आयुर्वेद चिकित्सा विशेषज्ञ समाजका अध्यक्ष, नेपाल आयुर्वेद चिकित्सक संघका पदाधिकारी तथा क्षेत्रका अन्य व्यक्तिहरुसँग भेटघाट र छलफल गरिसकेका छन् ।
सूचना प्रविधिको प्रयोग आफैँमा समस्या होइन । समस्या त्यसलाई प्रयोग गरेर अप्रमाणित सूचना, अतिरञ्जित दाबी र व्यावसायिक प्रचारलाई चिकित्सकीय सल्लाहजस्तो प्रस्तुत गर्नु हो । यही प्रवृत्ति अहिले आयुर्वेद तथा वैकल्पिक चिकित्साको क्षेत्रमा बढ्दो चुनौतीका रूपमा देखिएको छ ।

आयुर्वेद अझै पनि परम्परागत ज्ञान, वैद्य र चिकित्सकीय अभ्याससँग जोडिएको चिकित्सा पद्धति हो । ग्रामीण तथा शहरी दुवै क्षेत्रमा आयुर्वेदप्रति विश्वास गर्ने ठूलो जनसंख्या छ । आयुर्वेदिक औषधि तुलनात्मक रूपमा सस्तो र कम जोखिमयुक्त हुन्छ भन्ने जनविश्वास पनि छ । यही विश्वासलाई आधार बनाएर केही व्यक्ति तथा संस्थाले सामाजिक सञ्जालमार्फत् आक्रामक व्यावसायिक प्रचार गरिरहेका छन् ।
परिषद्का नवनियुक्त रजिष्ट्रार अर्यालको सामाजिक सञ्जालमा पनि विगतमा आयुर्वेद औषधि तथा चिकित्सकीय सेवासम्बन्धी प्रचार सामग्री देखिएको छ । विभिन्न औषधि, उपचार पद्धति र स्वास्थ्य सेवासम्बन्धी सामग्री सामाजिक सञ्जालमा प्रचार गरिएको भेटिन्छ ।
उदाहरणका रूपमा डा. मिसन्त ढकालको फोटो राखेर ‘पञ्चाङ्ग आयुर्वेद औषधालय, धरान आउँदै’ भन्ने प्रचार सामग्री सामाजिक सञ्जालमा देखिन्छ । उक्त प्रचारमा ग्यास्ट्रिक, अल्सर, माइग्रेन, पिनास, सोराइसिस, बाथ तथा नसासम्बन्धी समस्या ‘सफल उपचार’ हुने दाबी गरिएको छ ।
त्यस्तै, ‘पाइल्स फ्री नेपाल’ नामको संस्थाले पाइल्ससम्बन्धी एनिमेटेड भिडियो प्रयोग गर्दै उपचार सामग्रीको विज्ञापन गरेको देखिन्छ । विश्वदीप तिमिल्सिनाको नाममा पनि पाइल्ससम्बन्धी लेजर उपचारको प्रचार गरिएको सामग्री सामाजिक सञ्जालमा भेटिन्छ ।

आरोग्य नेचर केयर हस्पिटलका निर्देशक डा. उमेश केसीको नामबाट घुँडाको समस्या तथा बाथसम्बन्धी उपचारबारे छोटो समयमै सुधार हुने दाबी गरिएको प्रचार सामग्री पनि सार्वजनिक भएको देखिन्छ ।
ललितपुरस्थित लञ्जेभिटी हेल्थहोमका कृष्ण श्रेष्ठले मसाज आयलको प्रचार गरेको सामग्री पनि सामाजिक सञ्जालमा देखिन्छ । त्यहाँ ‘दुखाइ, थकान र तनावलाई प्राकृतिक आराम’ दिने दाबी गरिएको छ । उनी डाक्टर, कविराज वा वैद्य कुन हैसियतमा छन् भन्ने कुरा उक्त प्रचार सामग्रीमा स्पष्ट गरिएको छैन ।
काठमाडौंको धुम्बाराहीस्थित ओम धन्वन्तरि आयुर्वेद अस्पतालसँग सम्बन्धित प्रचार सामग्रीमा घुँडा दुखाइका विभिन्न कारणबारे जानकारी दिँदै अस्पताल तथा उपचार सेवाको प्रचार गरिएको छ ।
डा. राजीव घिमिरेले पनि पाइल्स, फिस्टुला र फिसरजस्ता समस्याका लागि धनगढी, सुर्खेत र बुटवलमा विशेष उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत् प्रचार गरेको देखिन्छ ।
त्रिभुवन विश्वविद्यालय आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरका डा. मदन भण्डारीले भने सामाजिक सञ्जालका प्रचारको पछि नलाग्न जनहितमा सन्देश दिएका सामग्रीसमेत सार्वजनिक गरेका छन् ।
सुनसरीको इटहरीस्थित श्रृष्टि सञ्जीवनी आयुर्वेदसँग सम्बन्धित भिडियोमा पाइल्स, फिस्टुला र फिसरलाई समयमै उपचार गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै सेवाप्रति आकर्षित गर्ने सामग्री देखिन्छ ।
नाभी असन्तुलनसम्बन्धी डा. झलक विष्टको नाममा पनि सामाजिक सञ्जालमा भिडियो सामग्री भाइरल भएको देखिन्छ । भिडियोमा नाभीलाई ‘सूर्यस्थान’ र ‘ऊर्जाको कुण्ड’सँग जोडेर व्याख्या गरिएको छ ।
यस्ता सामग्रीको संख्या कति छ भन्ने यकिन तथ्यांक नभए पनि सामाजिक सञ्जालमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका नाममा उपचार र औषधिको प्रचार तीव्र रूपमा भइरहेको देखिन्छ । कतिपय सामग्रीमा चिकित्सकीय दाबी गरिएका छन् भने कतिपयमा बिरामीको डर, पीडा र स्वास्थ्य समस्यालाई व्यावसायिक प्रचारको आधार बनाइएको देखिन्छ ।
विगतमा टेलिभिजन तथा अन्य सञ्चारमाध्यममार्फत् बिरामीलाई देखाएर उपचार सेवाको प्रचार गर्ने प्रवृत्ति थियो । अहिले त्यही शैली सामाजिक सञ्जाल, युट्युब र फेसबुकमा पुगेको छ । सेलिब्रिटी, पत्रकार, कलाकारदेखि जनप्रतिनिधिसम्मलाई उत्पादन वा सेवाको प्रचारमा प्रयोग गर्ने प्रवृत्ति पनि बढेको छ ।
यसले सर्वसाधारणलाई कुन व्यक्ति चिकित्सक हुन्, कुन संस्था आधिकारिक हो र कुन औषधि वा उपचार विधि प्रमाणित छ भन्ने छुट्याउन कठिन बनाएको छ ।
नुवाकोटको विदुरबाट काठमाडौं पाइल्सको उपचारका लागि आएका दिनबन्धु अर्यालले पनि सामाजिक सञ्जालमा देखिएका सामग्रीका आधारमा आफ्नो रोगको समाधान हुने विश्वास गरेको बताएका छन् । हातहातमा मोबाइल पुगेको अवस्थामा कुनै पनि स्वास्थ्यसम्बन्धी सामग्री केही सेकेन्डमै हजारौँ मानिससम्म पुग्न सक्छ । यसले गलत वा अप्रमाणित दाबीको प्रभाव पनि बढाएको छ ।
आयुर्वेद क्षेत्रमा लामो समयदेखि काम गरेका केही विज्ञले भने समस्या केवल अनलाइन प्रचारमा मात्र नभएको बताउँदै आएका छन् । आयुर्वेद क्षेत्रमा रहेको संस्थागत कमजोरी, पर्याप्त जनशक्ति र स्रोतको अभाव, व्यावसायीकरण तथा नियमनको कमजोरी पनि सुधारको विषय भएको उनीहरुको धारणा छ ।
आयुर्वेद क्याम्पस कीर्तिपुरका प्रमुख सहप्राध्यापक डा. शिवमंगल प्रसादले विगतमा आयुर्वेदकर्मीभित्रै रहेको कमजोरी र शक्तिकेन्द्रमुखी प्रवृत्तिले विधाको विकासमा समस्या ल्याएको धारणा व्यक्त गरेका थिए ।
प्राध्यापक डा. डिबी रोकाले पनि आयुर्वेदलाई समयअनुकूल विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै परम्परागत ज्ञानलाई आधुनिक सन्दर्भसँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् ।
दिवंगत डा. ऋषिराम कोइरालाले आयुर्वेदको विकासका लागि यसको मौलिक मर्म र चिकित्सकीय आधारलाई कमजोर नबनाई शुद्धीकरण र सुधारमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निवर्तमान निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले पनि आयुर्वेदको बजारीकरणलाई अनलाइन प्रचारको पर्याय बनाउन नहुने बताएका थिए । उनका अनुसार सकारात्मक सुधार र व्यवस्थित बजारीकरण आवश्यक भए पनि त्यसलाई विकृति र अतिरञ्जित प्रचारसँग जोड्नु उचित हुँदैन ।
आयुर्वेद चिकित्सा पद्धति आफैँ विभिन्न चुनौतीबीच अघि बढिरहेको छ । एलोप्याथिक चिकित्सा प्रणालीको विस्तार, सरकारी प्राथमिकताको कमी, पर्याप्त बजेटको अभाव, दक्ष जनशक्तिको कमी र निजी क्षेत्रको तीव्र व्यावसायीकरणले थप चुनौती सिर्जना गरेको छ ।
आयुर्वेदको नाममा अप्रमाणित औषधि र उपचारको प्रचार हुँदा त्यसको असर सम्बन्धित व्यक्ति वा संस्थामा मात्र हुँदैन । त्यसले समग्र आयुर्वेद चिकित्सा पद्धतिको विश्वसनीयतामाथि प्रश्न उठाउन सक्छ ।
आयुर्वेद चिकित्सा परिषद्को भूमिका यहीँ महत्वपूर्ण हुन्छ । परिषद्ले आयुर्वेद चिकित्सक तथा उपचारकको नियमन, दर्ता र व्यावसायिक मापदण्ड कायम गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ । तर बजारमा देखिएका विकृति नियन्त्रण गर्न परिषद्को नियमन क्षमता पर्याप्त छ कि छैन भन्ने प्रश्न पनि उठ्दै आएको छ ।
परिषद्को स्रोत र साधनको अवस्था पनि चुनौतीपूर्ण छ । विगतमा बजेट अभावका कारण सामान्य सूचना प्रकाशनदेखि कार्यक्रम सञ्चालनसम्म कठिनाइ भएको अधिकारीहरुले बताएका छन् । संस्थाको आम्दानीका स्रोत विस्तार, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकास नयाँ नेतृत्वका लागि महत्वपूर्ण विषय हुन् ।
आयुर्वेदसँगै वैकल्पिक चिकित्साको नियमनसमेत परिषद्को जिम्मेवारीमा ल्याउने विषयमा चर्चा हुँदै आएको छ । यस्तो जिम्मेवारी थपिए परिषद्को कार्यक्षेत्र विस्तार हुनेछ । त्यससँगै जनशक्ति, बजेट, प्राविधिक क्षमता र नियमन संयन्त्र पनि विस्तार गर्नुपर्ने हुन्छ ।
अध्यक्ष ठाकुर यसअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र कोशी प्रादेशिक आयुर्वेद अस्पतालसँग सम्बन्धित जिम्मेवारीमा रहिसकेका छन् । कोशीमा रहँदा स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको अनुभव पनि उनीसँग छ ।
रजिष्ट्रार अर्याल निजी क्षेत्रमा आयुर्वेद अस्पताल सञ्चालनसँग जोडिएका व्यक्ति हुन् । निजी क्षेत्रको अभ्यास र त्यसका चुनौतीबारे उनको अनुभव परिषद्को नियमन र नीति निर्माणमा उपयोग हुन सक्छ । तर नियामक निकायमा पुगेपछि निजी क्षेत्रसँगको सम्बन्ध, स्वार्थको सम्भावित द्वन्द्व र नियमनबीच सन्तुलन कायम गर्नु पनि महत्वपूर्ण हुनेछ ।
अब अध्यक्ष र रजिष्ट्रारसामु मुख्य चुनौती सामाजिक सञ्जालमा देखिएका अप्रमाणित प्रचारलाई व्यवस्थित गर्नु मात्र होइन । परिषद्को संस्थागत क्षमता बढाउने, चिकित्सकीय मापदण्ड कायम गर्ने, जनताको विश्वास जोगाउने र आयुर्वेदलाई प्रमाणमा आधारित तथा जिम्मेवार चिकित्सा पद्धतिका रूपमा अघि बढाउने चुनौती पनि उनीहरुसामु छ ।
परिषद्मा नयाँ नेतृत्व आएको छ । अन्य सदस्यहरुको नियुक्ति हुन बाँकी छ । त्यसैले अहिले नै उनीहरुको कार्यसम्पादनबारे निष्कर्ष निकाल्नु हतार हुनेछ । तर सुरुवाती चरणमै नियमनको स्पष्ट मापदण्ड, अनलाइन प्रचारसम्बन्धी आचारसंहिता, उजुरी सुनुवाइको प्रभावकारी संयन्त्र र नियमित अनुगमन सुरु गर्न सके परिषद्को भूमिका प्रभावकारी बनाउन सकिन्छ ।
आयुर्वेदको विकासका लागि बजेट र जनशक्ति आवश्यक छन् । तर त्यसभन्दा महत्वपूर्ण कुरा नियमनमा स्पष्टता, संस्थागत पारदर्शिता र व्यावसायिक आचरण हो । नयाँ नेतृत्वका लागि यही विषय पहिलो परीक्षाको क्षेत्र बन्ने देखिन्छ ।
अबको प्रश्न आयुर्वेद काउन्सिलमा नयाँ पदाधिकारी आए कि आएनन् भन्ने मात्र पनि होइन । सामाजिक सञ्जालमा फैलिएको अनलाइन मार्केटिङ, अतिरञ्जित उपचार दाबी र अप्रमाणित स्वास्थ्य प्रचारलाई परिषद्ले कसरी हेर्छ भन्ने हो ।
नियामक निकाय आफैँ स्पष्ट, पारदर्शी र प्रभावकारी बन्न सकेमा मात्र आयुर्वेदप्रतिको जनविश्वास बलियो बनाउन सकिन्छ । अध्यक्ष ठाकुर र रजिष्ट्रार अर्यालका लागि यही अवसर पनि हो र चुनौती पनि ।
सम्बन्धित समाचार
खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म...
बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको...
गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम
चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै...
६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ
सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न,...




