KTM Post Logo
KTM Post Logo

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप अभियान: चार लाख ८५ हजारलाई खोप लगाइने

📰
KTM Post

भद्रपुर (झापा)।  झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि व्यापक खोप अभियान सञ्चालन हुँदैछ।

स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र आवश्यक तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ।

जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए। उनका अनुसार झापामा जेई सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कताका साथ यो खोप अभियान सञ्चालन गर्न लागिएको हो।

जिल्लामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका कसैले पनि जेई विरुद्धको खोप नलगाएको पाइएको उहाँले बताए।

“लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरेका छौं”, प्रमुख दासले भने, “खोप पूर्ण रूपमा सुरक्षित भएकाले लक्षित समूहका नागरिकले अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ।”

स्वास्थ्य कार्यालयका अनुसार गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएका व्यक्ति तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन। त्यस्तै, ज्वरो आएको अवस्थामा तत्काल खोप नलगाई ज्वरो निको भएपछि मात्र लगाउन सकिने जनाइएको छ।

जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोगको सङ्क्रमण सर्ने गर्दछ।

सम्बन्धित समाचार

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका 1

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म...

बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा 1

बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको...

गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम 1

गेटामा पूर्ण क्षमतामा तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न डा. केसीको अल्टिमेटम

चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै...

६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ 1

६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ

सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न,...