KTM Post Logo
KTM Post Logo

बहुआयामिक गायक चेतनको बढ्दो व्यस्तता

📰
KTM Post

अस्मिता क्षेत्री

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रश्नोत्तर’ कविताको यो हरफजस्तै छ उनको सोच पनि । उसो त जब जोकोही मानिस आफ्‌नो लक्ष्य अनि गन्तव्यमा पुग्नका लागि योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहन्छ– तबमात्रै ऊ सफल हुन्छ । हो– उनी पनि कलिलो उमेरबाटै एउटै उद्देश्य बोकेर अनवरत रूपमा अघि बढिरहे । अहिले उनको सपनासमेत आंशिक रूपमा पूरा भएको छ । फेरि, सोख–चाहना कहिल्यै मार्नुहुँदैन । आफूले इच्छाएको काम गर्दा सन्तुष्टि मिल्नेमात्रै होइन– सफलता पनि प्राप्त हुन्छ । यही सूत्र अपनाइरहेका छन् उनले । आफ् क्षेत्र–विधामा पृथक् पहिचान बनाउन सफल लोकप्रिय गायक चेतन राईको साझा परिचय हो यो ।

औपचारिक रूपमा चेतनले बनाएको व्यक्तित्व भनेको गायकको हो । अहिलेसम्म उनले जे/जति गीत गाएका छन्‌– ती आफैंमा चर्चित र ऐतिहासिक पनि छन् । यद्यपि उनको परिचय यतिमै सीमित छैन– बहुआयामिक र फराकिलो छ । कतिले आधुनिक पप गीतकार, कतिले कुशल संगीतकार त कतिले नामी भिडियो निर्देशकका रूपमा चिन्छन् । तर, नजिकबाटै नियाल्नेहरूले भने उनलाई गायन क्षेत्रका बहुविधाका धनी व्यक्तिको श्रेणीमा राख्छन् । अझ पछिल्ला दिनमा त चेतनमा अर्को पनि उपाधि थपिएको छ– छोटो अवधिमा नै उत्कृष्ट म्युजिक भिडियो पस्कने व्यस्त गायक । हालै उनको म्युजिक भिडियो सहितको ‘कयौं प्रहार’ गीत सार्वजनिक भएको छ । पाँचौ एल्वम ‘स्पिड’ मा समावेश गरिएको उक्त गीतले छोटो समयको अन्तरालमा राम्रो चर्चा बटुलिरहेको छ ।

चेतनको जन्म २०३५ साल साउन १७ गते सल्यान जिल्लाको हालको शारद नगरपालिका–३ बयलडाँडामा दिपककुमार राई र पार्वताकुमारी घर्तीमगरका १ छोरा तथा १ छोरीमध्ये पहिलो सन्तानको रूपमा भएको हो । उनी घरनजिकैको श्री त्रिभुवन जनमाध्यमिक विद्यालयबाट २०५१ सालमा एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनसँगै संगीत क्षेत्रबाटै भविष्य निर्माण गर्ने सुनौलो सपना सँगालेर काठमाडौं भित्रिएका हुन् । अनि आफ्‌नो गन्तव्य पहिल्याउँदै एकातिर प्रभूराज ढकाल, उदय सोताङ, चन्द्रराज शर्मा र सुदेशराज शर्मासँग संगीत प्रशिक्षण लिए भने अर्कातिर भोटाहिटीस्थित ललितकला क्याम्पसमा संगीत विषयमै अध्ययन गर्न थाले ।

हुन पनि एक किसिमबाट हेर्दा चेतनको रगतमा नै संगीत मिसिएको छ । उनको हजुरबुबादेखि बुबा, काका र अन्य नातागोता पनि जिल्लाको नाम चलेका गायक नै हुन् । र त उनको आधार पनि संगीत नै बन्यो । ‘म सानैदेखि रेडियोमा बजेका गीत सुनेर गुन्गुनाउँथें । गाउँको पूजाआजा, जात्रा, विहेबटुलो, चाडपर्वमात्रै होइन– विद्यालयमा आयोजना गरिने हरेक साँस्कृतिक कार्यक्रममा पनि आकर्षकको केन्द्र बन्थें’ चेतन आफ्‌नो विगत स्मरण गर्छन्‌– ‘त्यतिबेला विद्यालयमा हरेक शुक्रवार आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये साँस्कृतिक कार्यक्रममा सदा प्रथम हुन्थें । त्यसले ममा हौसला बढायो । त्यतिबेलादेखि अहिलेसम्म यही क्षेत्रमा रमिरहेको छु, अझै रमिरहने छु ।’

त्यस्तै, २०६० बाट भने चेतन स्कुलहरूमा संगीत शिक्षकको रुपमा काम गर्न थाले । त्यो यात्रा ४ वर्षजति चल्यो । त्यसपछि आफ्‌नै गीति एल्वम ल्याउने जमर्कोमा जुटे । त्यही दौरानमा २०६६ मा पहिलो ‘एल्वम’ ‘सेभेन’ आयो । ७ वटा गीत समावेश यस ‘एल्वम’ले राम्रो व्यवसायिक सफलता हासिल गर्यो । त्यसपछि चेतनले क्रमशः ‘साउण्ड’, ‘स्टेप’, ‘स्टेज’ र केही समयअघि ‘स्पिड’ एल्वम पनि पस्किसकेका छन् । आधुनिक, पप, लोकपप आदि सवै विधाका गीत गाउन उत्तिकै पोख्त चेतनले हालसम्म ७ दर्जनबढी गीतमा स्वर दिइसकेका छन् । नेपालका असंख्य गायकहरूको भिडमा पृथक पहिचान बनाउन सफल उनले सामान्यदेखि ठूल्ठूला ‘स्टेज प्रोग्राम’हरूमा समेत गाएरै ‘हाइहाइ’ कमाइसकेका छन् ।

यही अन्तरालमा चेतनले २ दर्जनबढी म्युजिक भिडियो पनि ल्याइसकेका छन्, जसमा ‘तिमी तिमी’, ‘एक दुई तीन रमाइलो छ यो दिन’, ‘मरेर के लानु छ’, ‘कहिले कतै’, ‘बाँधन’, ‘नाम्चे बजार’, ‘जापानिज साडी’, ‘दर्के झरी’, ‘मेरो देश नेपाल’, ‘हाँसी देऊन’, ‘दोधार’, ‘घुम्दै जाँदा’, ‘सालैजू’, ‘तिमी धून बन’, ‘बाँध न मायाको डोरीले’ आदि चर्चित र व्यवसायिक रुपमा पनि सफल मानिन्छन् । र त चेतन दर्जनौं राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मान, पुरस्कार तथा अवार्ड सहित अभिनन्दित भइसकेका छन् ।

जस्तो कि ३१ अगष्ट २०२५ मा उनलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डको ११औं राष्ट्रिय अधिवेशन निर्वाचनको अवसरमा सम्मानपत्र प्रदान गरिएको छ । सोही दिन थाइल्याण्डमा ‘बर्ल्ड वाइड मिडिया नेटवर्क’ले आयोजना गरेको ‘ग्लोबल इन्टरनेशनल अवार्ड–२०२५’ मा वर्षको सर्वोत्कृष्ट पप गायक घोषणासहित अवार्ड दिइयो । यसैगरी, १ सेप्टेम्वरका दिन ‘पगेन्ट नेपाल’ले थाइल्याण्डको बैंककमा आयोजना गरेको ‘४औं स्टार इन्टरनेशनल अवार्ड–२०२५’ मा विशेष अतिथिको रुपमा सम्मान गर्यो । त्यसअघि पनि चेतनले ‘राप्ति साहित्य परिषद् सल्यान सम्मान–२०७८’, ‘वर्ल्डवाइज मिडिया नेटवर्ट प्रा.लि. सम्मान–२०७९’, ‘लाइन्स क्लव अफ सल्यान सम्मान–२०८०’, ‘एल्लो टाईगर मुभिज् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. सम्मान–२०८१’, ‘साधना दशक गायक सम्मान–२०८१’, ‘विश्व संगीत दिवस–२०८२ को अवसरमा नवरस संगीत पाठशालाबाट प्रदान गरिएको सम्मान’, ‘छैटौं जिनियस म्युजिक अवार्ड–२०८२’ मा प्रसंशापत्र’ आदि प्राप्त गरिसकेका छन् ।

यसैगरी, चेतनले सर्वोत्कृष्ट गायकको हैसियतमा ‘रापति म्युजिक अवार्ड–२०६८’, ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’, ‘एएनपी नेशनल अवार्ड–२०७८’, ‘जिनियस म्युजिक अवार्ड–२०७९’, ‘म्युजिक खवर म्युजिक अवार्ड–२०८०’, ‘जिवन्त नेपाल म्युजिक अवार्ड–२०८०’, ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०८२’ पाइसकेका छन् । यतिमात्रै होइन, उनले ‘पाँचौं नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२४’, ‘दक्ष इन्टरनेशनल प्रा.लि.’द्धारा आयोजित ‘ग्लोबल स्टार अवार्ड–२०२५’ आदिमा कुशल निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन् । चेतनले गायनकै दौरानमा जापान, दुवई, थाइल्याण्डलगायत मुलुकको भ्रमण गरिसकेका छन् ।

सम्बन्धित समाचार

सुस्तामा १०० घर डुबानमा, उद्धार जारी 1

सुस्तामा १०० घर डुबानमा, उद्धार जारी

काठमाडौं । सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगत्तै विपद्...

पाकिस्तानमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु, ३० घाइते 1

पाकिस्तानमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु, ३० घाइते

पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते...

लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, ब्यवसायीसँग २ घण्टा छलफल 1

लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, ब्यवसायीसँग २ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजी लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, सफल ब्यवसायीसँग २ घण्टा...