KTM Post Logo
KTM Post Logo

काठमाडौंको आपूर्ति श्रृङ्खला फेरी विथोलियो

📰
KTM Post

काठमाडौं । काठमाडौंको आपूर्ति श्रृङ्खला पुनः विथोलिएको छ । बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा यातायात सञ्चालन गर्न बनाइएको नयाँ ट्रयाक एक हप्ता नबित्दै पुनः भासिएसँगै काठमाडौंको मुख्य आपूर्तीमार्गमा अवरोध पुगेको छ ।

निरन्तरको वर्षाका कारण नयाँ ट्रयाकमा लगाइएको ग्याबिन जाली बगाउनुका साथै सडकको केही भाग भासिएपछि पृथ्वी राजमार्गमा यातायात पुनः बन्द गरिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले कृष्णभीरको सडकखण्डमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले सडक कटान गर्दा करिब २०० मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउने–जाने यातायात सेवा नै विच्छेद भएको थियो।

राजमार्ग अवरुद्ध भएपछि सरकारले तत्कालीन सडककै आसपासबाट नयाँ ट्रयाक निर्माण गरी गत असोज १ गतेदेखि यातायात सञ्चालनमा ल्याएको थियो। लामो समयदेखि अवरुद्ध सडकमा नयाँ ट्रयाक खुलेपछि काठमाडौंसँगको यातायात सम्पर्क सहज हुने र राजधानीको आपूर्ति तथा ढुवानी व्यवस्था सामान्य बन्दै जाने अपेक्षा गरिएको थियो।

तर, नयाँ ट्रयाक सञ्चालनमा आएको एक हप्ता नपुग्दै पुनः समस्या देखिएको हो। बिहीबारदेखि परेको निरन्तर वर्षाका कारण ट्रयाकको संरक्षणका लागि निर्माण गरिएको ग्याबिन संरचना बगाएको छ भने सडक थप भासिन सक्ने जोखिम बढेको छ। जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उक्त सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाएको छ।

कृष्णभीरमा सडक पुनः अवरुद्ध भएपछि काठमाडौंको आपूर्ति व्यवस्थामा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ। पृथ्वी राजमार्ग राजधानीलाई देशका विभिन्न जिल्ला तथा तराई–पहाडका बजारसँग जोड्ने प्रमुख सडक भएकाले यसबाट दैनिक उपभोग्य वस्तु, खाद्यान्न, निर्माण सामग्री तथा अन्य सामान काठमाडौं भित्रिने गर्छन्। सडक लामो समय अवरुद्ध भएमा ढुवानी लागत बढ्नुका साथै बजारमा वस्तुको आपूर्ति प्रभावित हुन सक्ने जोखिम हुन्छ।

त्यस्तै, राजधानीबाट बाहिरिने तथा राजधानी भित्रिने यात्रुका लागि पनि कृष्णभीरको अवरोध ठूलो समस्या बन्नेछ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा देशका विभिन्न भागबाट काठमाडौं आउने र राजधानीबाट घर फर्किने यात्रुको चाप बढ्ने समयमै मुख्य सडकखण्ड अवरुद्ध हुँदा यात्रामा थप कठिनाइ र जोखिम उत्पन्न हुने देखिएको छ।

विशेषगरी वैकल्पिक सडकको क्षमता सीमित भएकाले पृथ्वी राजमार्गमा समस्या आउँदा त्यसको प्रत्यक्ष प्रभाव अन्य सडकमा समेत पर्न सक्छ। लामो दूरीका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा यात्रा समय र लागत दुवै बढ्ने सम्भावना हुन्छ।

सम्बन्धित समाचार

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 1

देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे? 1

एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो 1

शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।विशेष गरी काठमाडौँको...

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना 1

गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...