नक्खु जेलब्रेक, यातना र संघर्षहरु
घनेन्द्र वस्नेत
नेपालको पूर्वोत्तर जिल्ला भोजपुरको कुलुब गाविसको टाहार गाउँको सामान्य मध्यम किसान परिवारमा वि.सं. २००९ आश्विन २५ गते मेरो जन्म भएको हो । बुवा पुष्पबहादुर बस्नेत र आमा पशुपति बस्नेतका तीन छोरा र ६ छोरीमध्येको जेठो सन्तान । हाम्रो त्यो परिवार कुनै राजनैतिक परिवार थिएन । राजनैतिक संघर्षको दौरानमा म जेल परेपछि समर्थक र खास गरी म जेलबाट छुटेपछि मेरो परिवार राजनैतिक बन्यो । अहिले परिवारका सदस्यमध्ये केही म संलग्न राजनैतिक दल एमालेको शुभचिन्तक, समर्थक र केही सदस्य बनेका छन् । मैले गाउँकै हाईस्कूलबाट एसएलसीसम्मको शिक्षा प्राप्त गरी वीरगञ्ज कलेज अफ एजुकेशनबाट आइए पास गरेँ । २०४२ सालमा नक्खु जेलबाटै परिक्षा दिएर स्नात्तक तह उत्तीर्ण गरेँ । सम्पूर्ण जीवन राजनीतिमा लगानी गर्ने मेरो परिवारमा म मात्र हुँ । अहिले परिवारमा श्रीमती र एउटा छोरासहित हामी तीनजना छौँ ।
विद्यालयमा अध्ययन गर्दै गर्दा धरानमा पढ्न आएका एकजना युवाले माओ त्सेतुङ्गको रातो किताब गाउँमा पु¥याएका थिए । हामीसँग अलिअलि रुस र चीनको क्रान्तिको कुरा पनि उनले गरे । त्यसको प्रभाव हाम्रो कलिलो मस्तिष्कमा परेको थियो । त्यसबेला हाम्रो गाउँमा पञ्चायती ओहदामा रहेका र केन्द्रसम्मै पहुँच भएका, प्रशासनलाई प्रभाव पार्न सक्ने टाठाबाठा भनाउँदा अलिक धनी परिवारको बोलबाला थियो । सोझा–सिधा किसान जनतामाथि उनीहरुको शोषण, दमन, अन्याय र अत्याचार व्याप्त थियो । हाईस्कूल तहमा पढ्ने हामी केही विद्यार्थीहरुले स्वतःस्फुर्त रुपमा शोषण, दमन, अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउन थाल्यौँ । उनीहरुले गरेको शोषण र अन्याय–अत्याचारको विरुद्धमा किसानहरुबीच प्रचार गर्न थाल्यौँ । स्कूलमा हुने साहित्यिक कार्यक्रमहरुमा कविताको माध्यमले उनीहरुको भण्डाफोर गर्न थाल्यौँ । गाउँ तहको पञ्चायत निर्वाचनमा पहिलोपल्ट उनीहरुको विरुद्धमा उम्मेदवार खडा गर्दै किसानहरुलाई गोलबन्द गरेर उनीहरु विरुद्ध नारा–जुलुस ग¥यौँ । उनीहरु जसरी आइलाग्छन्, हामी पनि त्यसरी नै जाइलाग्न शुरु ग¥यौँ । यससँगै उनीहरुले हामीलाई दुःख दिने क्रम पनि बढ्यो । पढाइको क्रममा हाईस्कूल सकेर कतिपय साथीहरु बाहिर गए पनि गाउँमा त्यो अभियान जारी रह्यो । पछि गएर उनीहरु परास्त भए ।
कम खर्चमा अध्ययन गर्न सकिने भएकोले स्कूल तहको पढाइ सकेर म आईएड पढ्न २०२७ सालको आषाढतिर वीरगञ्ज पुगेको थिएँ । प्रायः मेरै जस्तो आर्थिक अवस्था भएका र देशका विभिन्न भागबाट पढ्न आएका विद्यार्थी साथीहरुको वीरगञ्जको कलेज अफ एजुकेशनमा जमघट भयो । पढाइकै क्रममा प्रगतिशील तथा वामपन्थी विचार बोक्ने साथीहरुबीच भेटघाट, चिनजान र छलफल हुन थाल्यो । प्रगतिशील पत्र–पत्रिका, र पुस्तकहरु, विशेष गरेर चिनियाँ साहित्य खोजीखोजी पढ्न थाल्यौँ ।
त्यसै अवधिमा वामपन्थी विचार राख्ने ठाकुरराम क्याम्पसका विद्यार्थीहरु, वीरगञ्जमा भएका शिक्षक र बुद्धिजीवीहरु, चीनी कारखानाका मजदुरहरू र बारा जिल्लाका किसानहरुबीच राजनीतिक काम गर्ने कम्युनिष्ट साथीहरुसँग सम्पर्क, भेटघाट र छलफल हुन थाल्यो । हाम्रो बीचमा कामको बाँडफाँड भयो । जसअनुसार मलगायत केही साथीहरुले विद्यार्थीबीच राजनीतिक काम गर्ने जिम्मा लियौँ ।
२०२७ सालतिरकै कुरा हो, भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । सुस्ता र महेशपुरमा नेपालमाथि भएको अतिक्रमण, विशेषगरी भारतको सीमावर्ती बजारमा नेपालीहरुमाथि गरिएको अपमानको विरोधमा वीरगञ्जमा हामीले एउटा विशाल जुलुससहित जनप्रदर्शन ग¥यौँ । यसै बीचमा चीनमा उपचार गरेर वीरगञ्ज फर्कनुभएकी दिदी इन्दिरा जोशीसँग हाम्रो भेट भयो । वहाँको भाकपा(माले)को बिहार राज्य कमिटीसँग सम्पर्क रहेछ । वहाँबाटै हामीले भाकपा (माले)का केही लेख– दस्तावेजहरु पायौँ र अध्ययन ग¥यौँ । 'गाउँमा जाने कमरेडहरुका लागि’ भन्ने चारु मजुमदारको लेखले हामीलाई विशेष प्रभाव पार्यो ।
त्यसबेला हामी चारतिर मुन्टो फर्काएका पुराना कम्युनिष्ट नेताहरुबाट नेपाली क्रान्ति सम्भव छैन र क्रान्तिको अगुवाई नयाँ युवा पुस्ताबाटै गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थियौँ । यसै मेलोमा २०२९ सालको सुरुतिर अघिल्लो वर्ष त्यहाँको पढाइ सकेर घर फर्कनु भएका हामी मध्येकै एकजना खडानन्द भारद्वाजले झापाबाट म लगायत केही साथीहरुको नामै उल्लेख गरेर एउटा पत्र पठाउनु भयो । पत्रमा लेखिएको थियो— 'झापामा नयाँ ढंगले क्रान्तिको थालनी भएको छ । गाउँ जाने क्रममा यहाँको अनुभवले निकै ठूलो महत्व राख्छ । त्यसैले तपाइँहरु एकपल्ट झापा आउनुहोस् ।’
त्यो पत्रले हामीलाई धेरै उत्साहित बनायो । हाम्रो पनि पढाइ सकियो । सबै साथीहरु आ–आफ्नै घरतिर लाग्नुभयो । म २०२९ सालको असोजमा झापा गएँ र खडानन्दजीसँग भेट गरेँ । भेटमा वहाँले 'झापाली कम्युनिष्टहरुले सशस्त्र सब्घर्षको थालनी गरिसकेको, केही सामन्त जमिन्दारहरु एक्सनमा परेका, त्यसको प्रभाव जनतामा राम्रो परेको र भूमिगत रुपमा राजनीतिक काम भइरहेको’ आदि कुराहरु बताउनु भयो । वहाँले जिम्मेवार नेताहरुसँग मलाई भेट गराउने हुनुभयो । त्यसै बेलादेखि म पनि वहाँसँगै किसानहरुबीच राजनीतिक काममा जुट्न थालेँ ।
यसै क्रममा एक दिन सीपी मैनाली र नेत्र घिमिरेसँग भेट भयो । वहाँहरुसँग मेरो लामै कुराकानी भयो । त्यहाँको अनुभव र दस्तावेजहरु लिएर भोजपुरतिरै फर्कने र उतै काम थाल्ने कुरा मैले राखें । वहाँहरुले 'केही महिना झापामा सँगै काम गरौँ । अनि कामको अनुभव लिएर जानुहोला’ भनेपछि झापामा नै राजनीतिक सांगठनिक काममा जुटेँ ।
धर्मप्रसाद ढकालमाथि एक्सन हुनासाथ खडानन्दजी र म सँगै भूमिगत भयौँ । सरकारको तीव्र दमनको कारण साथीहरु धमाधम पक्राउ पर्न थाल्नुभयो । २०२९ फागुन २१ गते सरकारले जेल सार्ने बहानामा ५ जना कमरेडहरुको निर्ममतापूर्वक हत्या गर्यो । त्यस घटनाले उत्पन्न गरेको आतब्कको कारण कतिपय साथीहरु भारततिर पलायन हुनुभयो । २०३० साल साउनमा झापाकै नडियावाडीमा सब्गठकहरुको ठूलो सब्ख्या पक्राउ प¥यो । धरपकड र दमनको कारण सब्ठकहरुको अभावमा मेरो भोजपुर फर्कने कुरै सिद्धियो । म झापामा नै राजनीति काममा लागि रहेँ । झापा जिल्ला पार्टी कमिटीको पुनर्गठन गर्ने सिलसिलामा २०३० साल कात्तिक ७ गते झापाकै घैलाडुबामा पक्राउ परेँ ।
२०३० सालको सुरुमा झापा जेलबाट हामीलाई वीरगञ्ज जेलमा सारियो । केही साथीहरुलाई वीरगञ्जमै छाडेर म लगायत धेरै जसोलाई पुनः जेल सरुवा गरी काठमाडौँका सेन्ट्रल, भद्रगोल र ललितपुरको नक्खु जेलमा राखियो । म सेन्ट्रल जेलतिर परेँ । २०३३ सालको मब्सिर महिनामा सेन्ट्रल जेलबाट सारेर मलाई नक्खु पु¥याइयो ।
सुरुंग खन्ने प्रक्रियामा मेरो भूमिका
भारतमा जेल परेका कम्युनिस्ट क्रान्तिकारीहरुले सिलिगुडी लगायत कतिपय जेलहरुबाट सफलतापूर्वक जेलब्रेक गरेका रोमाञ्चक घटनाहरु हामीले सुनेका थियौँ । 'जेलमा परेका क्रान्तिकारीहरु त्यहाँ चुप लागेर बस्नु हुन्न र जेलब्रेक गरेर जनताको बीचमा जानुपर्छ । जेल पनि एउटा विद्रोहको थलो हो’ भन्ने हाम्रो घोषित नीति र मान्यता थियो । त्यसै कारण पक्राउ पर्नासाथ उम्कने र जेलमा पुग्नासाथ जेलब्रेक गर्ने कुरा हाम्रो मस्तिष्कमा खेलिरहेको थियो । झापाको चन्द्रगढी जेलबाट भाग्ने योजना बनायौँ, जेल सरुवा गरिकोले त्यो योजना कार्यान्वयन हुन पाएको थिएन । सरुवा गरेर ल्याइएको काठमाडौँको सेन्ट्रल जेलमा पनि अनेक जुक्ति खियायौँ तर सम्भव भएन ।
वि.स. २०३३ सालको कात्तिक–मंसिरतिर जेल चलान हुँदै हामीमध्ये धेरै जसो नक्खु जेलमा जम्मा हुन पुग्यौं । अरु जेलहरुको तुलनामा त्यहाँको वातावरण अलिक खुकुलो र अनुकूल थियो । त्यसैलाई उपयोग गर्दै हामीले नक्खु जेलब्रेक गर्ने योजना बनायौँ । अन्ततोगत्वा सुरुब खनेर हामी १५ जना राजनीतिक बन्दीहरु २०३३ साल चैत्र १२ गते जेलबाट निस्कन सफल भयौँ ।
नक्खु जेलमा हामीले कम्युनिष्ट क्रान्तिकारीहरु बीच जेल कमिटी बनाएका थियौँ । त्यसैको नेतृत्वमा जेलब्रेकको योजना बनेको हो । उक्त योजना कार्यान्वयन गर्नका निम्ति सबैलाई जिम्मेवारी बाँडियो । सबै जनाले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुकैै परिणाम स्वरूप जेलब्रेक सफल भएको थियो । गोपनीयतालाई ध्यानमा राखेर हामीले स–साना ग्रुप बनाएका थियौँ । राजनीतिक अध्ययन, छलफल र बहस झण्डै डेढ महिना जति सञ्चालन गरिएको थियो । जेलब्रेक गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर छलफल अघि बढाएका थियौँ । म त्यसैमध्ये एउटा ग्रुपको सञ्चालक थिएँ । २०३३ साल फागुन नौ/दस गतेतिर हामीले सुरुंग निर्माण गर्ने काम थाल्यौँ । कामको दौरानमा अनेक प्रकारका समस्या र जटिलताहरु आइपरे । जसलाई कमिटीमा छलफल गरेर समाधानका उपायहरु खोज्यौँ । जेलको पश्चिम दक्षिण पाटोमा सुरुब निर्माण स्थल थियो । गैरराजनीतिक कैदी–बन्दीमध्ये केही अत्यन्त्तै बदमास थिए । उनीहरुलाई हाम्रो कार्यस्थलतिर आउन नदिन अन्तै अल्माल्याउनु पथ्र्यो । उनीहरुमध्ये केहीलाई अल्मल्याउने जिम्मा मेरो थियो । कहिले खेलतिर त कहिले आल्तु-फाल्तु गफ चुटेर म तिनीहरुलाई अलमल्याउँथे । जिम्मेवारी बाँडफाँड अनुसार नै कहिले सुरुबभित्र लगिएको बिजुलीको लाइनको स्वीच अन–अफ गरेर सब्केत गरेर सुरुंगभित्र जानुभएका साथीहरुलाई बाहिरी परिस्थितिको जानकारी दिने, कहिलेभित्र खनिएको माटो–ढुङ्गा बाहिर निकाल्ने त कहिले प्रदीप नेपालसँगै गीत गाएर अन्य बन्दीहरुलाई अलमल्याउने जस्ता काममा मेरो सहभागिता हुने गर्दथ्यो ।
सुरुंग खन्न थालेको ३२ दिनपछि कार्य सम्पन्न गरेर हामी २०३३ साल चैत्र १२ गते बाहिर निस्कने भयौँ । योजना अनुरुप नै माधव पौडेल, सीपी मैनाली र वीरबहादुर लामा सुरुंगको बाहिरी मुखमा पुगिसक्नु भएको थियो । ट्वाइलेटमा नाङ्गा तार जोडेर फ्युज पड्काएर पूरै बत्ती निभाउने जिम्मा नारद वाग्ले र अशोक न्यौपानेको थियो । योजना अनुसार नै बेलुका बत्ती निभ्यो । त्यसैबेला माधव पौडेल सुरुंगबाट बाहिर निस्कनु भयो । तर तुरुन्तै बत्ती आइहाल्यो । सबै साथीहरुलाई क्रमशः सुरुंगभित्र पठाएर अन्त्यमा म बाहिर निस्कने सल्लाह थियो । कतिपय साथीहरु सुरुंगभित्र पसिसक्नुभएको थियो । तुरुन्तै बत्ती आएकोले सुरुंगभित्र पसेका केही साथीहरु जेलभित्रै फर्कनु भयो । अर्कोपल्ट पनि नारदजीहरुले बत्ती निभाउने प्रयास गर्नुभयो । तर, फेरि पनि तुरुन्तै बत्ती आइहाल्यो । सुरुंगभित्रैबाट सीपीजीले 'अब अन्तिम प्रयास गर्नुहोस् । फेरि पनि बत्ती निभेन भने जतिसुकै खतरा भए पनि बाहिर निस्कनुपर्छ’ भनेर एउटा चिर्कटो लेखेर पठाउनु भयो । नारदजी र अशोकजीले अन्तिम प्रयास गर्दा ट्रान्सफर्मर पड्कियो र पूरै अन्धकार भयो ।
यस बीचमा निक्कै समय बितिसकेको थियो । बत्तीले धोका दिनाले योजना अनुरुप सुरुंगभित्र पस्ने र बाहिर निस्कने क्रम भङ्ग भयो । दुई–तीन जना साथीहरु सुरुंगभित्र पसे/नपसेको थाहै भएन । अन्त्यमा दुई–तीन जना साथीहरुभन्दा अघि म सुरुंगबाट बाहिर निस्कनेमा परेँछु । पूर्वयोजना अनुरुप सुरुबबाट एकजना साथीलाई डोरीको एक छेउ समाउन दिएर अर्को छेउ बाहिर निस्कने साथीले समातेर आलुबारीमा चारपाउ टेकी घिस्रँदै निस्कने क्रममा केही साथीहरुको र्धैर्यता हडबडीको कारण भङ्ग भएछ । म बाहिर निस्कँदा न डोरी थियो, न डोरी समाएर बस्ने मान्छे नै ।
रातको करिब १० बजेतिर हामी सबै सुरुंगबाट बाहिर निस्किसकेका थियौँ । सीपीजी लगायत केही साथीहरुसँग मेरो नक्खु खोलाको बगरमा भेटभयो । बाँकी साथीहरु अँध्यारोमा कताकता छरिनुभएछ । छरिएका साथीहरुलाई खोज्न, भेट्न र एक ठाउँमा जम्मा गर्न झण्डै एक घण्टा जति लाग्यो । तर पनि गोपाल शाक्य र नारदजीसँग भेट हुन सकेन । अरु बढी समय त्यहाँ अलमल गर्नु धेरै खतरा हुने महसुस गरेर नभेटिनु भएका दुई जना बाहेक हामी १३ जना त्यहाँबाट बाटो लाग्यौँ ।
सांभार- नख्खु जेल विद्रोह ....
सम्बन्धित समाचार
३४ वर्षअघि झलनाथ खनालसँग गरेको त्यो अन्तर्वार्ता
महेश्वर दाहालपुरानो अखबार पल्टाउँदै जाँदा त्यो अन्तर्वार्ता फेरि भेटियो । मैले तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य झलनाथ खनालसँग गरेको लामो...
महादेशीय कलाको संग्रहालय
भवानी बरालअन्तत : पृय मित्र हरि सुब्बा तुम्बाहाङ्फे को संयोजनमा डलास कला संग्राहलय घुम्ने मौकामिलीहाल्यो । यो संग्राहलय एक दिन लगाएर हैन कैयौं दिन...
भू-अर्थशास्त्रकाे नयाँ युग र नेपाल
सुमन सुवेदीसोभियत सङ्घको विघटनपछिका तीन दशकसम्म अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रको मुख्य सिद्धान्त उदारवादबाट निर्देशित थियो । तत्कालीन नीति...
राष्ट्रियताको सवालमा मगरात स्वशासनको प्रश्न
भवानी बरालनेपालको विविधता ःनश्लको हिसाबले नेपाल मंगोल, आर्य, अष्ट्रो र द्रबीड परिवारका असंख्य जाति समुदाय बसोबास गर्ने देश हो । यसरी नै भाषा परिवारको...






