राष्ट्रियताको सवालमा मगरात स्वशासनको प्रश्न
भवानी बराल
नेपालको विविधता ः
नश्लको हिसाबले नेपाल मंगोल, आर्य, अष्ट्रो र द्रबीड परिवारका असंख्य जाति समुदाय बसोबास गर्ने देश हो । यसरी नै भाषा परिवारको हिसाबले भोट–बर्मेली (तिब्बतो–बर्मन), भारोपेली, अष्ट्रो र द्रबीड परिवारका असंख्य भाषिक समुदायहरु छन । तर ती सबै जातीय तथा भाषिक समुदायहरु अल्पसंख्यामा छन् । कुनै एक जातीय तथा भाषिक समुदाय बहुसंख्यामा छैनन् । सभ्यताको हिसाबमा पनि नेपाली समाज विविधतापूर्ण छ ।
ऐतिहासिक तथ्य, सामाजिक बनोट, सभ्यता मूल्यमान्यताका आधारमा दूइ जातिहरु (जातवाला जाति र जनजाति) छन् । बसोबास, थातथलो, भूमीसंगको ऐतिहासिक सम्बन्ध र निरन्तरताको हिसाबले आदिवासी र गैरआदिवासी छन । समाज विकासक्रमको चरणबाट गण, कविला, जाति र राष्ट्रहरु छन् । शोषण, उत्पीडनको हिसाबले शोषित उत्पीडित जाति र शोषक उत्पीडक जाति र सामाजिक सांस्कृतिक रुपमा दलित उपेक्षित जाति समुदाय छन् । तर एउटै जाति भित्रपनि शोषक र शोषित छन् । वर्गीय आधारमा फरक जातिका शोषक–शोषकबीच शोषित–शोषितबीच पारस्परिक मेल र शोषक र शोषितबीच विरोध पनि छ । धार्मिक सांस्कृतिक हिसाबमा पनि नेपाली समाज विविधापूर्ण छ । समग्रमा नेपालको यो भूखण्डको जनस्यांङ्खिक तस्विर हो ।
राष्ट्र र राष्ट्रियता ः
राष्ट्र अंग्रेजी नेशन शब्दको पर्यायबाची शब्द हो । यो शब्द लेटिन भाषाको नेसियो शब्दबाट आएको हो । नेसियोको अर्थ जन्म वा जाति हुन्छ । जन्म तथा जातिको बन्धनबाट बाँधिएको समुदाय नै राष्ट्र हो । दर्शनशास्त्री बर्गेल्सले एकै नश्ल सम्बन्धि एकताबद्ध जनता जुन भौगोलिक एकताको कुनै भूभागमा बसोबास गर्दछन । अंग्रेजी शब्द कोसले ‘साझा इतिहास, भाषा र विशेष क्षेत्रमा बसोबास गर्ने मानिसहरुको ठूलो समुदाय’ ९ीबचनभ अयmmगलष्तथ या ब उभयउभि ब अयmmयल जष्कतयचथ, बिलनगबनभ बलम जबखष्लन ष्ल ब उबचतष्अगबिच तभचचष्तयचथ।० यस्तो भाषामा परिभाषित गरेको छ ।
स्टालिनले राष्ट्रको परिभाषामा भनेका छन्, ‘राष्ट्र भनेको ऐतिहासिकरुपले विकसित स्थिर मानव समुदाय हो, जुन साझा संस्कृतिमा प्रतिबिम्बित हुने साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन र साझा मनोवैज्ञानिक संरचनाको आधारमा निर्मित हुन्छ ।’
विपी कोइरालाले भनेका थिए, ‘राष्ट्र भनेको कुनै भूभागको ढुङ्गो, माटो, खोलानाला र साँध सीमामात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो ।’ यसरी राष्ट्रका बारेमा विद्वानहरुले अनेक परिभाषा गरेका छन । दोस्रो जनान्दोलनको सफलतापछि बनेको अन्तरिम संविधान २०६३ कोे भाग १ धारा ३ मा राष्ट्रको परिभाषा ः ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांंस्कृतिक विशेषतायुक्त, समान आकांक्षा र नेपालको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो ।’ यसरी नै नेपालको संविधान २०७२ भाग १ धारा ३ मा राष्ट्रको परिभाषा यो भाषामा गरिएको छ ः ‘राष्ट्र ः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’
तर सबै परिभाषाहरुले राष्ट्रको रुपमा जनसमुदायलाइ सम्बन्धित गराएका छन् । यस अर्थमा राष्ट्र र राज्यमा अन्तर छ । राज्य भनेको सुसंगठित सार्वभौम एकाइ हो । राष्ट्र भनेको जनताको जाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाज, चालचलन आदिबाट सिर्जित भावानात्मक एकीकरण र व्यवहारको समानता हो । राष्ट्रियता भनेको राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना हो । राष्ट्रलाइ प्रेम गर्नु नै राष्ट्रियता हो । यसैलाइ हामी राष्ट्रको साँचो अर्थमा पहिचान भनेर बुझ्न सक्छौं । राष्ट्रियता भनेको कुनै विशेष राष्ट्रको सदस्य हो । यसैले अंग्रेजी शब्द कोसहरुका परिभाषामा कुनै विशेष राष्ट्रको सदस्यता । ९ःझदभचकजष्उ या ब उबचतष्अगबिच लबतष्यल।० भनेर उल्लेख गरियो । यस अर्थमा मगर एउटा महत्वपूर्ण राष्ट्र हो । यसैले मगरात स्वशासनको माध्यमबाट राष्ट्रियताको सवाल हल गर्नु पर्छ ।
मगर र मगरात स्वशासन ः
मंगोल नश्ल र भोट बर्मेली भाषा परिवारको मगर जाति नेपालको एक प्रमुख आदिवासी जनजाति हो । विसं २०७८ को जनगणना अनुसार आदिवासी जनजाति मध्ये सबैभन्दा बढी जनसंख्या भएको समुदाय हो । पछिल्लो तथ्याङ्क अनुसार मगर जातिको कुल जनसंख्या २० लाख १३ हजार ४९८ अभिलेख गरिएको छ । यो कुल जनसंख्याको ६. ९ प्रतिशत हो । भाषिक भिन्नतालाइ आधार मान्दा मगर तीन उपजातीय समूहमा छन । अहिलेसम्म भएका अध्ययन अनुसन्धान अनुसार काली गण्डकीवारिका १२ मगराती समूह, काली गण्डकीपारिका १८ मगराती र डोल्पासहितका हिमाली जिल्लाका काइके समूहको समग्र पहिचान नै मगर जाति समुदाय हो । राप्ती र गण्डकी प्रस्रवण क्षेत्रको पहाडि भूभागमा आदि थातथलो भएका मगरहरु देशका अन्यत्र भूभागमा पनि छरिएर रहेका छन । यसमध्ये १२ मगरातको आदि थातथलो पाल्पा, तनहुँ, गुल्मी, अर्घाखाँची, म्याग्दी, प्युठान, बागलुङ र पर्वत हो । यसरी नै १८ मगरातको रोल्पा, रुकुम र काइकेको डोल्पासहीतका हिमाली जिल्ला । वर्तमानको जनसंख्या वितरण अनुसार लुम्बिनीमा ३७ प्रतिशत, गण्डकीमा २३ प्रतिशत, बागमतीमा १० प्रतिशत, कोसीमा ९ प्रतिशत तथा कर्णाली र सुदूर पश्चिममा ३र३ प्रतिशत रहेको छ । यो भौगोलिक निरन्तरताले मगरात स्वसासन निर्माण गर्ने सहज छाँयाछवी प्रस्तुत गर्दछ ।
स्वशासनको प्रश्न ः
नेपालको यो भौगोलिक स्वरूप निर्माण भए यता नेपाली समाजमा भएको उत्पीडन कुनकुन रुपमा प्रकट भए तिनै आधारलाई स्वशासनसहीतको संघीय राज्य निर्माणले सम्बोधन गर्नु पर्छ । सबैले ठहर गरेको कुरो हो विगतमा नेपालमा वर्गीय, जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, लिंगीय उत्पीडन भयो । अहिलेसम्म त्यसैको निरन्तरता छ । यसर्थ स्वशासित राज्य वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय समस्याको समाधान गर्न निर्माण गर्ने हो । अर्काे नेपाल वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक मुलुक हो । यी समस्या समाधान गर्न पनि स्वशासनको आवश्यकता परेको हो । यसमानेमा जातीय र भाषिक विशिष्ठता सम्बोधन नगरि नहुने विषय हो । तर जातीय र भाषिक विशिष्ठतालाई सम्बोधन गर्ने स्वशासनको सिद्धान्त तथा स्वायत्तताको योजना तथा कार्यक्रम आकर्षित हुन्छ । राजनैतिक विज्ञानमा भएको स्वायत्तताको योजना तथा कार्यक्रम रहित संघीयताको सिद्धान्त हुन सक्तैन ।
स्वशासनको आधार नेपाली सामाजिक समुदायको राष्ट्रियतासंग अन्तरसम्बन्धित छ । हरेक नेपाली समुदायको राष्ट्रियता कहाँ छ भनेर खुट्याउन सक्दा मात्र स्वशासित संरचनाको आधार भेट्न सकिन्छ । यो आधारबाट राष्ट्रियता पहिचान गर्न सकिन्छ । साझा भाषा, साझा भूगोल, साझा मनोविज्ञान र साझा अर्थ जीवनको आधारमा नेपालमा मगर जाति समुदाय राष्ट्रको योग्यता क्षमता र निरन्तरता छ । अर्को भाषिक आधारमा भाषा साझा छ, जातिहरु फरक छन् तर भूगोल मिलेको छ भने भौगोलिक आधारमा त्यस्ता समुदायको पहिचान बनाउन सकिन्छ । यसर्थ मगरात स्वशासनको प्रश्न जटिल छैन । थातथलोमा ऐतिहासिक निरन्तरता छँदैछ केहि भाषिक भिन्नता बाहेक ।
यसर्थ मगरातमा जातीय पहिचान, ऐतिहासिक तथा भौगोलिक निरन्तरताका आधार एवम् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वशासनसहीत संघीयतामा लान सकिन्छ । तर, इतिहासको विभिन्न कालखण्ड गुज्रेर जादा आर्थिक, सामाजिक–सांस्कृतिक सन्तुलन भङ्ग भइसकेको छ । त्यसकारण सम्बन्धित जातीय समुदाय र गैर जातीय समुदाय दुवैको मुक्तिको हल गर्ने संरचना निर्माण गर्नु जरुरी हुन्छ । रैथाने जाति र गैर रैथानेबीचको अन्तरविरोधको हल गर्नें वा समायोजन गरेर राष्ट्रिय राज्यको परिकल्पना गर्नुपर्छ । तर सम्बन्धित जातिको जातीय स्वायत्तता अनिवार्य सर्तका रुपमा अगाडि आउँछ । संगसंगै गैर जातिको मुक्तिको प्रश्न पनि हल हुनु पर्छ ।
सिमाङ्कनः
पहिलो पटक विभिन्न आन्दोलनले माग गरेका र ऐतिहासिक प्रमाणका आधारमा प्रदेशको सिमाङ्कन गर्नु जरुरी छ । राजनीतिक अभ्यासका क्रममा फेरि पनि सम्मिलन गर्न सकिन्छ तर पहिलो पटक ऐतिहासिक पृष्ठभूमीका आधारमा सिमाङ्कन गर्नु पर्छ । राप्ती र गण्डकी प्रस्रवण क्षेत्रको पहाडि भूभागमा आदि थातथलोलाइ प्राथमिकता दिनु उपयुक्त हुन्छ । अर्थात १२ मगरात, १८ मगरात र तीन हिमाली जिल्ला स्वशासनका उपयुक्त सिमाङ्कनको प्राथमिक आधार हुन । यस सन्दर्भमा डोल्पा जिल्लाको भेरी नदीले सीमाबद्ध गरेको पूर्व रुकुम, सल्यान, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, बागलुङ, अर्घाखाँची, म्याग्दी र भेरीपूर्व डोल्पाको भूभाग प्रारम्भिक प्रस्ताब हुनसक्छ । यसो नगर्दाे त्यसले ठाडो, तेर्सो सबै झगडालाई निम्त्याउछ र संघीय संरचना बन्नै नसक्ने झगडाको बिउ हुनेछ ।
रहलपहल ः
संविधानत परिभाषित राष्ट्रको परिभाषा अनुसार राज्य निर्माण गर्दा मात्र आन्तरिक औपनिवेशीककरणको अन्त्य हुन्छ । राष्ट्रमा पिछाडि पारिएका वा परेकाहरुले पहिचानमार्फत राष्ट्रको सार सभ्यता, संस्कृति र मनोभावको माग गरेका हुन । यति नै बन्दोबस्त गर्दा राष्ट्र बन्ने र राष्ट्रियता सुदृढ हुने कुरामा हलो अड्काउनु मुनासिब लाग्दैन । आन्तरिक औपनिवेशीकरणको अन्त्य विना समग्र राष्ट्रियताको विकास र समृद्धिको कल्पनासम्म गर्न सकिन्न । राष्ट्रियताको सवालमा मगरात स्वशासनको प्रश्न यहिँनेर आएर हल हुन्छ । नेपाली जनताबीचको आधारभूत अन्तरविरोधको अन्त्य नै राष्ट्र निर्माणको जग हो । यो जग नेपाली राष्ट्रियता सुदृढीकरणको कोशे ढु«ङ्गा सावित हुनेछ ।
नेपाल मगर संघ केन्द्रिय समितिले रोल्पा जेलबाङमा गत वर्ष माघ ५ र ६ गते आयोजना गरेको राष्ट्रियताको सवालमा मगरात स्वशासनको प्रश्न विषयक गोष्ठीमा प्रस्तुत बरालको अवधारणा पत्रमा आधारित
सम्बन्धित समाचार
नक्खु जेलब्रेक, यातना र संघर्षहरु
घनेन्द्र वस्नेतनेपालको पूर्वोत्तर जिल्ला भोजपुरको कुलुब गाविसको टाहार गाउँको सामान्य मध्यम किसान परिवारमा वि.सं...
३४ वर्षअघि झलनाथ खनालसँग गरेको त्यो अन्तर्वार्ता
महेश्वर दाहालपुरानो अखबार पल्टाउँदै जाँदा त्यो अन्तर्वार्ता फेरि भेटियो । मैले तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य झलनाथ खनालसँग गरेको लामो...
महादेशीय कलाको संग्रहालय
भवानी बरालअन्तत : पृय मित्र हरि सुब्बा तुम्बाहाङ्फे को संयोजनमा डलास कला संग्राहलय घुम्ने मौकामिलीहाल्यो । यो संग्राहलय एक दिन लगाएर हैन कैयौं दिन...
भू-अर्थशास्त्रकाे नयाँ युग र नेपाल
सुमन सुवेदीसोभियत सङ्घको विघटनपछिका तीन दशकसम्म अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रको मुख्य सिद्धान्त उदारवादबाट निर्देशित थियो । तत्कालीन नीति...






