जहाँको विद्यालयमा रोल नम्बर तेह्र नै हुँदैन
अस्मिता क्षेत्री
झट्ट सुन्दा सुरुमा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो । नेपालको सुगम स्थानको जिल्ला सदरमुकाममा अवस्थित एउटा विद्यालयमा रोल नं. १३ नै हुँदैन भन्दा जो कोहीलाई हत्तपत्त विश्वास लाग्दैन । कतिलाई रोचक लागेर कौतुहलताले सताउन थाल्छ । २१ औं शताब्दीको भौतिकवादको चरम युगमा पनि यसरी विज्ञानलाई चुनौती दिँदै अध्यात्मवादले अझै जरा गाडिरहेको छ सुन्दा जोकोहीलाई अचम्म लाग्नसक्छ । हालको लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका–१ चिदिचौरमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयमा त्यस्तै भएको छ ।
यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत रोल नं. १३ भएका सातजना विद्यार्थीको विभिन्न खालखण्डमा आकस्मिक मृत्यु भएपछि २०३२ साल अर्थात् विगत ५१ वर्षदेखि कक्षा ९ मा रोल नं. १३ नै खारेज गरिएको छ । त्यसयता रोल नं. १२ बाट सिधै १४ पार्न थालिएको विद्यालयका निवर्तमान प्रधानाध्यापक केशरबहादुर थापा बताउँछन् । 'मलाई जानकारी भएसम्म २०२८ सालमा तत्कालीन अर्खले गाउँ पञ्चायतका ढुण्डिराज भण्डारी, २०३० मा तम्घास बजारकै जुनप्रसाद श्रेष्ठ र २०३२ मा स्थानीय कृष्णप्रसाद पाण्डे नामका रोल नं. १३ भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थीको मृत्यु भयो' उनी भन्छन्– 'त्यसअघि पनि अन्य चारजना विद्यार्थीको 'अकाल'मा निधन भइसकेको रहेछ ।'
ती विद्यार्थी कोही चट्याङमा परेको, कोही रगत बान्ता गरेर तत्कालै ढलेको त कोही रोगविना नै विद्यालयमा एक्कासी मृत्यु भएको महेन्द्रकै पुराना शिक्षक तथा स्थानीय पाका व्यक्तिहरू बताउँछन् । घटना भएको यति लामो समय बितिसक्दा पनि किन त्यही पुरानै अन्धविश्वासले डेरा जमाइरहेको छ त ? हालका प्रअ कृष्णप्रसाद मरासिनी प्रष्ट्याउँछन्– 'हामीले विश्वास नगरेर के गर्ने ? विद्यालयको प्राङ्गणमै थलथले जमिन छ । त्यहाँ पानी उम्लिरहन्छ । मानिसले टेक्यो भने पूरै गाडिन्छ । स्थानीयवासीले त्यसलाई 'चिदीको देवता' भनेर मानिरहेका छन्, केही वर्ष अघिबाट त मन्दिर नै बनाएर पूजाआजा गरिरहेका छन् । फेरि, रोल नं. १३ रोज्न कुनै विद्यार्थी–अभिभावक तयार हुँदैनन्, डराउँछन् । यस्तोमा हामीले पनि कर गर्ने विषय उठ्दैन ।'
यसरी 'अकाल' मृत्यु हुने भय बढ्दै गएपछि पाण्डेको निधनलगत्तै 'ज्यानमारा रोल नं. १३' भन्दै महेन्द्रको कक्षा ९ मा यो रोल नं. राख्ने प्रक्रिया नै रद्द गरियो । यस्तै, भण्डारीको नाममा त केही वर्षअघि अक्षयकोष नै खडा गरिएको छ । यस विद्यालयमा हाल कक्षा १ देखि १० सम्म करिव ७ सय र कक्षा ११–१२ मा ५ सय हाराहारी विद्यार्थी संख्या छ । चालू शैक्षिक सत्रमा कक्षा ११–१२ मा भर्ना हुने विद्यार्थी क्रमशः थपिदै छन् । विद्यालयको अन्य कक्षामा भने प्रक्रियागत रूपमा रोल नं. १३ ले सुरुदेखि नै निरन्तरता पाइरहेको छ । नजिकै रहेका अन्य निजी तथा सरकारी विद्यालय र कलेजमा समेत रोल नं. १३ कसैका लागि अभिशाप बनेको छैन ।
महेन्द्र माविको १० मिनेट पैदल दूरीमा रेसुङ्गा र सिद्धबाबा मावि पनि छन् । त्यहाँनजिकै १० कक्षासम्म अध्ययन हुने रिडर्स बोर्डिङ स्कुल, १२ कक्षासम्म सञ्चालित अर्जुन बोर्डिङ स्कुल र त्यही सेरोफेरोमा गण्डकी बोर्डिङ तथा आदर्श विद्याश्रम समेत रहेका छन् । त्यसको केही टाढा भने उपल्लो तम्घास, बुद्ध, मावि र रेसुङ्गा बहुमुखी क्याम्पसलगायत छन् । यद्यपि त्यहाँको स्कुल/कलेजमा महेन्द्रको जस्तो 'चिदी देवता' त परै जावस् त्यसको हावाले समेत छुन सकेको छैन ।
उसो त महेन्द्र माविको इतिहास आफैंमा निकै चाखलाग्दो छ । अभिलेख अनुसार, २००९ मा तम्घासको ताल्कालीन लक्ष्मीपुर गाउँ पञ्चायत–१ (हालको रेसुङ्गा–१) चिदिचौरमा १ देखि ८ कक्षासम्म सञ्चालन हुने श्री लक्ष्मीपुर मिडिल स्कुल स्थापना भएको हो । २०१६ मा राजा महेन्द्र देश भ्रमणमा रहँदा त्यही स्कुलमा बास बस्न पुगेछन् । 'त्यतिबेला जनता, बडाहाकिम सबैले माग गरेबमोजिम राजा महेन्द्रबाट हाइस्कुल बनाउन हुकुम बक्स भएछ' स्थानीय उदय खनाल स्पष्ट पार्छन्– 'अनि महेन्द्रसँगै बसेको टोलीले विद्यालयको नाम पनि फेरेर श्री महेन्द्र हाइस्कुल बनाइदिएको हो ।'
'हाइस्कुल'मा परिणत भएपछि महेन्द्र माविको पहिलो 'ब्याच'का विद्यार्थीले २०२० मा पाल्पाको सदरमुकाम तानसेन परीक्षा केन्द्रमा आएर एसएलसी दिए । यो क्रम २०२४ सम्म चल्यो । त्यसपछि विद्यार्थीको चाप क्रमशः बढ्न थाल्यो, भवनको अभाव भयो । अनि १० मिनेट टाढा उदिनढुंगामा भवन निर्माण गरी १–५ कक्षाका विद्यार्थीलाई त्यहाँ सारियो । महेन्द्रमा ६ देखि १० कक्षासम्म सञ्चालन गरियो । यसपछि २०३५ मा नयाँ शिक्षा लागू भयो । यससँगै विद्यालयको नामसमेत श्री महेन्द्र नमुना व्यावसायिक माविमा परिमार्जन गरियो ।
प्रसंग २०४० को हो– विद्यालय पुनः श्री महेन्द्र माविमा नै रूपान्तरण भयो । र, २०५७ मा आइपुग्दा विज्ञान संकायमा 'प्लस टु थपिएसँगै श्री महेन्द्र उच्च मावि बन्न पुग्यो । सोही वर्ष कक्षा ६ मा अनिवार्य अंग्रेजी माध्यम थपियो । त्यो 'ब्याच'ले २०६१ मा एसएलसी दियो, जुन शत प्रतिशत उत्तिर्ण भयो । २०६१ मा त कक्षा १० सम्म नै अनिवार्य अंग्रेजी माध्यम भयो । त्यसपछि त्यो नीति १–५ कक्षामा पनि लागू गरियो । 'यो प्रयास लुम्बिनी अञ्चलकै हकमा पहिलो हो' प्रअ मरासिनी दावी गर्छन्– 'हाम्रो त्यस्तो कदमबाट नजिकका विद्यालयले पनि अनुशरण गर्न मौका पाए ।' अर्को गर्वको पक्ष के छ भने अहिलेका रेसुङ्गा, सिद्धबाबा मावि तथा रेसुङ्गा बहुमुखी क्याम्पस २०३५, २०३९ र २०४२ मा महेन्द्रकै शाखा–उपशाखाको रुपमा विकास भएका हुन् । २०६३ देखि रेसुङ्गामा मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान आदि संकायमा स्नाकोत्तरतहसम्म अध्ययन–अध्यापन हुँदैआएको छ ।
अंग्रेजी विषयमा प्रखर मानिने मरासिनी २०५३ सालदेखि महेन्द्र माविमा अध्यापनरत छन् । उनी २०७८ बाट त्यहाँ प्रअ भएका हुन् । उनलाई विषयगत, आंशिक र पूर्ण गरी ६२ जना अध्यापकहरूले साथ दिइरहेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा नं. १ का वडाध्यक्ष रामप्रसाद पन्थी छन् । विषयगत, विधागत र समग्र अध्ययन, अध्यापन तथा परिणाम सवैमा हाल गुल्मी जिल्लाकै सर्वोत्कृष्ट ठहरिएको महेन्द्र मावि २०७४ मा नै नेपाल सरकारले देशभरबाट छनोट गरेको २ सय २२ वटा नमुना विद्यालयमध्येमा परेको हो । 'हाम्रो स्कुललाई २०७४ असार २५ मा नमुना विद्यालयको रुपमा छनोट गरिएको हो । २०७५–७९ को पञ्चवर्षीय गुरुयोजना र १ वर्षीय कार्ययोजना बनाएर शिक्षा मन्त्रालयको सहमतिमा स्थानीय सरकारबाट स्वीकृत लिई कार्यान्वयन पनि ग-यौं´ प्रअ मरासिनी मुस्कुराउँछन्– 'तर, माग गरेजति बजेट सरकारबाट नआउदा सोचेअनुरूपको रफ्तारमा प्रगति हुन सकेको छैन ।'
सम्बन्धित समाचार
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...
पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...




